म्याग्दी : बाढी पहिरोमा परेर १० जनाको मृत्यु, १२ जना बेपत्ता
म्याग्दी : बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् ।
बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
यसैगरी धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ । बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ । रघुगंगा खोलामा आएको बाढीले पुलमा पूर्ण क्षति पुर्याएपछि रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको सीधा यातायात सम्पर्कबिच्छेद भएको छ ।
रघुगंगा नदीमा अत्यधिक बहाव बढेकाले बेलिब्रिज नजिकै रहेको झोलुङ्गे पुल तथा आसपासका बस्तीहरु उच्च जोखिममा परेका छन् । त्यसैगरी अन्नपूर्ण–८, राम्चेको पुम्दीखोलाबाट म्याग्दी सदरमुकाम बेनीमा ल्याइएको खानेपानीको ५ र ६ इन्चको जिआई पाइपमा पनि रघुगंगा नदीमा आएको बाढीले क्षति पु¥याएपछि बेनीबजारमा खानेपानी आपूर्ति बन्द भएको छ ।
रघुगंगा नदीमा आएको बाढीले बेलिब्रिज बगाए पनि मानवीय क्षति भने नभएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
नदीमा उच्च बहाव आएको र बेलिब्रिजमा क्षति पु¥याउने अवस्था देखेपछि गलेश्वरवासीले मध्यराति नै खबर गरेपछि नदीको आसपासमा रहेका बस्तीबाट मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो । उज्यालाे अनलाइनबाट
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


