स्याङजा : सुन्तला सुपरजोनमै बिरुवा अभाव

orange_biruwa

भवानी अधिकारी/स्याङजा : सुन्तलाको जिल्ला भनेर चिनिने स्याङजामै सुन्तलाका बिरुवा अभाव भएको छ । सुन्तला सुपरजोनभित्रका इच्छुक किसानमध्ये ५० प्रतिशतले मात्र माग अनुरुप सुन्तलाका बिरुवा लगाउन पाएका छन् । 

गत वर्षको तुलनामा यस वर्ष सुन्तला रोपणमा चासो बढेकाले पचास प्रतिशत सुन्तलाका बिरुवा अभाव भएको सुन्तला सुरपरजोन संचालक समितिका अध्यक्ष बोधराज अर्यालले बताउनु भयाे । ‘सुन्तला खेतीबाट आर्थिकोपार्जनको पाटो राम्रो देखिएको र कोरोनाका कारण जिल्लामा युवा शक्ति भित्रिएकाले  बिगतमा बाँझा जग्गाजमिनमा सुन्तलाका बिरुवा लगाउने होड नै चलेको छ’, उहाँले भन्नुभयाे, ‘किसानका माग ९० हजार बिरुवाको थियो, हामीले ४५ हजार मात्र उपलब्ध गराउन सक्यौं ।’

सुपरजोन अन्तर्गतका ४ वटा हरित जालिभित्र सुन्तलाका बिरुवा उत्पादन गरिएको हो । पुतलीबजार स्थित देवी नर्सरी, भीरकोट स्थित बिन्ध्यवासिनी अर्गानिक भिलेज र शान्ति फलफूल नर्सरी र वालिङ् स्थित सुन्तला हाइटेक नर्सरीमा गरी झण्डै २६ हजार कलमी र ९ हजार बिजु बिरुवा उत्पादन गरिएका हुन् । 

यसैगरी धनकुटाबाट २ हजार कलमी र ८ हजार बिजु बिरुवा गरी ४५ हजार बिरुवा किसानलाई उपलब्ध गराइएको सचिव मुक्ति अधिकारीले जानकारी दिनुभयाे । 
सुन्तलाको लागि उपयुक्त हावापानी भएकाले जिल्लाका केही उत्पादक क्षेत्र समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना संचालनमा ल्याएको हो । जिल्लाका पुतलीबजारका ८ वडा, भिरकोटका ६ वडा, वालिङको एउटा वडा र अर्जुनचौपारी गाउँपालिकाको २ वडामा गरी कार्यक्रम संचालित छन् । 

जिल्लालाई विशेष गरी सुन्तलाबाटै समृद्ध बनाउने लक्ष्यसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन घोषणा गरिएको हो । विसं २०७३/०७४ मा जोन कार्यान्वयन एकाइ घोषणा गरे पनि पछिल्लो वर्ष २०७५/०७६ मा पुनः सुपरजोन घोषणा भइ सुन्तला रोपणका गतिबिधिलाई अघि बढाइएका छन् ।  

सुन्तला सुपरजोन अन्तर्गतका क्षेत्रबाट गतवर्ष २६ करोडको सुन्तला उत्पादन भएको बताइएको छ । सुपरजोन अन्तर्गत गतवर्ष १३ सय ५० हेक्टरमा सुन्तला खेती गरिएको थियो भने यसवर्ष १ सय ५० हेक्टरमा सुन्तला रोपण थप भएको छ । एक सय ७१ समूह, सहकारी र उद्यमी गरी ३ हजार ५ सय सुन्तला उत्पादक किसान सुपरजोनमा आवद्ध छन् । यहाँका सुन्तला किसानले न्यूनतम ३  देखि २२ लाख रुपैयाँसम्म वर्षेनी सुन्तलाबाट आम्दानी गर्ने गरेका छन् । प्रति हेक्टरमा ३ सय बिरुवा रोप्ने सकिन्छ ।  

यसैगरी सुन्तला सुपरजोन परियोजनाबाहेक पनि स्याङजाका प्रायजसो पालिकामा सुन्तला खेतीको उत्पादन राम्रो हुन्छ । ९७ वडा रहेको स्याङजा ८-९ वटा वडा बाहेक सबैमा सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएकाले यहाँ सुन्तला रोपणलाई प्राथमिकतामा राख्ने गर्दछन् । गतवर्ष जिल्लाभरबाट ३८ करोड भन्दा बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो । 

Facebook Comments Box
TOP