गर्भमै बलात्कृत कस्तुरी

kamala adhikari_edit


कमला अधिकारी :

जननी धर्ती धीरताको खानी ममतामयी भनेर सदा चर्चा पाएको शब्द हो आमा । अनि कुनै ठाउँमा सुरक्षित हुन नसकेको प्राणी पनि यिनै आमा हुन् । जिन्दगी जिउने सिलसिलामा परि आएका अप्ठ्रयारा वाधा अनि चुनौतीहरुको सामना गर्नुपर्दा धेरैको मुखमा आउने शब्द पनि आमा हो । तपाईको घर पक्कै पनि छोरी छन्, यदि छोरी छैनन् भने दिदीबहिनी छन्, ती पनि छैनन् भने बुहारी, अनि तपाइकै पत्नि त अवश्य छन् । यी सबै अवतारहरु नारीरुपी आमाकै हुन् । पुरुषले बलात्कारको घडि बिर्सन्छ, बलात्कृत नारी पनि कसैकी आमा हुन्, हरेक पुरुषको जन्म नारीबाट हुन्छ तर किन बिर्सन्छ पुरुष बलात्कृत नारी पनि छोरी हुन्, बुहारी अनि आमा हुन् भनी । नेपाली चेलीहरु सुरक्षित रहन सक्ने ठाउँ कुन होला ? कहिले बन्धक बनाएर बलात्कार, कहिले गिरोहद्वारा सामूहिक बलात्कार, कहिले जाहेरी दिन जाँदा उल्टै प्रहरीबाट, न त छोरी बचेका छन् न त दिदीबहिनी । यस्तो दुःखद परिस्थितिको अन्त्य कहिले, कसरी, कस्ले गर्ला ? शिव सँग पार्वती रामसँग सीता, कृष्णसँग राधा जोडिएका हुन्छन् किनकी एक बिना अर्को अधुरो र अपुरो मानिन्छ । पुरुषलाई महिला, महिलालाई पुरुषको साथ चाहिन्छ यो सत्य कुरा हो । तर कसैले कसैको शरीरलाई खेलौना बनाई मिल्काउनु अपराध हो ।।

===============================================================

बाबा हजुरले हिजो बेलुका मलाई सुनाउनुभएको कविता अझै सकिएको छैन । आज सुनाउनु न ……………….. छोरीले सुत्ने बेलमा जिद्दी गर्न थाल्छे आफ्नो प्यारो बाबासँग । पेशाले कस्तुरीका पिता शिक्षक थिए । दिनभरीको विद्यालयको काम काजले थाकेका बाबाले आफ्नी फूलजस्ती कोमल मृगनयनी अनि अनमोल मायाले कुँदिएकी छोरी कस्तुरीलाई सदा महाभारतको कथा सुनाउँथे ।

==============================================================
भगवान श्रीकृष्ण र सुदामा अत्यन्त मिल्ने मित्र थिए । एक दिन उनीहरु जंगलमा खेलिरहेका थिए । कृष्ण भगवानकी आमाले खाजा खान भनी एउटा पोको दिनुभयो । र भन्नुभयो बाब भोक लागेपछि खाजा दुबैले बराबर बाँडेर खानू । केहि समयपछि पानी पर्न थाल्यो खेल्दा खेल्दै कृष्ण भगवान कता पुग्नुभएछ ? सुदामाले केहि पल पर्खे तर भोक खप्न सकेनन् त्यसैले आधा खाएर आधा कृष्ण्लाई पोको पारेर राखिदिए । समय धेरै बितिसक्दा पनि कृष्णको अत्तो पत्तो भएन । सुदामाले बाँकी रहेको खाजा पनि खाए । तर कृष्ण भगवान फर्केर आएनन् उनी आफ्नो दरवारमा गएर राज गरे । कृष्णका साथी सुदामा अत्यन्त गरिब भएको हुनाले दुईका बीचमा दरार उत्पन्न भयो । भनिन्छ अर्काको भागमा लोभ गरेका हुनाले सुदामा लोभी भएका हुन् ।

===========================================================
रातको दस बजिसकेको थियो । कस्तुरी फ्वाँ–फ्वाँ गर्दै निदाएकी हुन्छे । उनको पीताले छोरीलाई पातलो कपडा ओडाई सजिलो गरी सुताउँछन् अनि आफू पनि मीठो निन्द्रामा हराउँछन् ।
विहानको नित्य कर्म सकाएपछि कस्तुरीका पिता भान्छामा खाना अनि दिउसोको खाजा बनाउन थाल्दछन् । छोरी उठेर बाबालाई सघाउन खोज्छे तर झनै काम बिगारिदिन्छे । नुन, मसला, बेसार भएको सन्दुकलाई एकै ठाउँमा मिसाइदिन्छे । बाबा रिसले चूर हुन्छन् अनि चर्को आवाजमा गाली गर्न थाल्दछन् । कस्तुरी सुँक्क सँुक्क गर्दै रुन थाल्छे । पलभरमै पीताको आँखा रसाउँछन्, छोरीलाई सुम्सुमाउँदै काखमा लिएर भन्छन् “नानी यस्तो काम गर्न हुन्न नि ! हेर अब स्कुल जान ढिला हुन्छ ।” यति भनेर छोरीलाई काखमा राखेर खाना खुवाउँछन् अनि विद्यालयको पोशाक लगाइदिएर छोरीलाई दिउसोको खाजा हातमा थमाइदिन्छन् छोरी हात हल्लाउँदै विद्यालय प्रस्थान गर्छिन । बाबा चुल्हो चौको सकाएर हतार हतार गरी विद्यालयतर्फ लाग्छन् ।

विद्यालयको गेटमा पुग्दा पालेले गेट बन्द गरिसकेको हुन्छ । उनी एकछिन केहि नबोलिकन बाहिर उभिन्छन् । राष्ट्रिय गानको कार्यक्रम सकाएपछि विद्यालयका प्र.अ. गेटतर्फ आउँछन् र गेट खोल्न लगाई भुनभुनाउन थाल्छन् । “समयमा विद्यालय नआउने शिक्षकलाई के भन्नु ? विद्यालयको अनुशासन आफैले बुझ्नुपर्छ मनपरी चल्दैन अब ।” कस्तुरीका बाबा माफी माग्दै विद्यालय प्रवेश गर्छन् । खिन्न मन लिएर दिवाकालीन सेवामा समर्पित हुन्छन् । चार बजेपछि घण्टि बज्छ अनि आफ्नो डेरातर्फ प्रस्थान गर्छन कस्तुरी र उनका पिता ।
राती सुत्ने बेलामा कस्तुरीले आफ्नो पितालाई ”बाबा ! भोली कक्षामा मिसले ‘साथीको महत्व’ बारे पाँच पाँच वाक्य बनाउन जान्ने भएर आउने है भन्नुभएको छ । कृष्ण र सुदामा पनि असल साथी थिए नि है बाबा ! मैले हजुरले हिजो भन्नुभएको कृष्ण र सुदामाको बारेमा नैं पाँच वाक्य बनाएर लिएर जान्छु । अब हिजोको बाँकि कथा सुनाउनु न त !

===========================================================
कृष्ण भगवान मनोरम महलमा राजा भएर राज्य सञ्चालन गरेका थिए भने सुदामा बिहे गरेर पारिवारिक भएका थिए तर बिहे पश्चात सुदामालाई हातमुख जोर्न पनि हम्मे हम्मे थियो । त्यसै बखत सुदामाकी श्रीमतिले सुदामालाई भन्छिन् ”तपाईको साथी कृष्ण भगवान निकै नैं धनवान, रुपवान अनि मनकारी हुनुहुन्छ रे, उहाँलाई एकपटक भेट्नुस् …… केहि उपाय निस्कन्छ कि µ” सुदामाले पत्निको कुरा मनमा लिन्छन् । सुदामालाई कृष्णलाई भेट्न जान रहर जागेर आयो तर भेट्न जाँदा लाने कोशेली केहि थिएन । श्रीमतीले कोशेलीको रुपमा अलिकति कनिका पोको पारेर सुदामाको हातमा राखिदिन्छिन् । सुदामा कलेठी परेका वस्त्र रगमगिएको अनुहार अनि एउटा पोकोमा कनिका लिएर श्रीकृष्णको दरवार अगाडि पुग्दछन् । तर चौकीदारले भित्र पस्न दिदैन । “म कृष्णको मित्र सुुदामा हुँ, म उहाँलाई भेट्न आएको हुँ, यो खबर उहाँसमक्ष पु¥याईदिनुस ।” आफ्नो बारेमा बेलिबिस्तार लगाएपछि मात्र चौकिदारले सुदामा भेट्न आएको कुरा भगवान कृष्णसमक्ष पु¥याउँछ । यस्तो खबर पाउनासाथ हर्षित हुँदै कृष्ण भगवान बाहिर आउँछन् र सुदामालाई अंकमाल गर्छन, सुदामालाई अंकमाल गर्दै उनको हातको मायाको पोको – कनिका खोलेर मीठो मानी खान्छन् । सुदामाले सबै हाल चाल सुनाउँछन् । कृष्ण भगवानले बडो चासोका साथ सुनिरहन्छन् । सुदामा कृष्णसँग बिदा भएर आफ्नो घरतर्फ प्रस्थान गर्छन । उनी घर पुग्दा पहिलेको कुटी महलको रुपमा पाउँछन् । श्रीमतीले पचास ठाउँमा टालेको साडी लगाएकी थिइन् । तर त्यो साडी फेरिएको हुन्छ । यो सबै परिवर्तन देखेर पनि सुदामालाई खासै सन्तुष्टि मिलेको थिएन । सुदामा भौतिकतामा भन्दा आध्यात्मिक सुखमा आफूलाई सन्तुष्ट राख्न सक्थे । त्यसैले भौतिक सुख सयल सबै श्रीमतीले सुम्पेर देवत्व प्राप्तिका लागि गृह त्याग गर्दछन् ।


छोरी संसारमा सबै मानिस एकै प्रकारका हुदैनन् । कोहि धन दौलतलाई सर्वस्व ठान्दछन् भने कोहि मनको सम्पन्नतालाई सर्वस्व ठान्दछन् । कस्तुरीका पिता आफ्नी छोरीलाई धार्मिक, नैतिकवान बनाउनका लागि यस्ता कथाहरु सुनाइरहन्थे । कस्तुरीले प्रश्न गर्छे “बाबा, सुदामाले जस्तै मम्मीले पनि हामी सबैलाई छोडेर जानुभएको हो ?” कस्तुरीका पिता अक्क न बक्क हुन्छन् । एकछिन पछि जवाफ दिन्छन् “छोरी, तिम्रो ममि भगवानको घर गएकी छन् । हाम्रो समीप नभएपनि हामीलाई हेरिरहेकी छिन् । कस्तुरीले जिद्दी गर्छे,“बाबा, आज कक्षामा मिसले हामीलाई जीवन र मृत्युको बारेमा कथा सुनाउनुभएको थियो । हाम्रो ममिको पनि मृत्यु भएको रे ! मेरो साथीले भनेको । कसरी भयो बाबा सुनाउनुन ।” कस्तुरीको पिताको आँखाभरी आँसु टिलपिलाउँछ । छोरीले पुनः जिद्दी गर्छे, बाबा छोरीको हठलाई नकार्न नसकी बृत्तान्त सुनाउने हिम्मत गर्दछन् ।

=========================================================
पेशाले तिम्रो आमा एक स्वास्थ्यकर्मी थिइन । हाम्रो बिहे पश्चात धेरै समयको प्रतिक्षापछि उनी गर्भवति भइन् । हामी दुबैको खुसीको सीमा नैं थिएन । उनी काम गर्न जाने समय एकैनासको हुदैनथ्यो । कहिलेकाँही राती पनि हुन्थ्यो । एकदिन उनी ढिला हुँदा पनि घर आइनन् । म र डेरा नजीकैको साथी भएर खोज्न गयौं । बिडम्वना, उनलाई जङ्गलको छेउमा अचेत अवस्थामा भेट्यौं । ढिला नगरी एम्बुलेन्स बोलाएर हस्पिटल पु¥यायौं । स्वास्थ्य अवस्था निकै नाजुक भएकाले पेटभित्रको बच्चा बचाउनको लागि अपरेशन गर्नुपर्ने भयो । उनको अवस्था देख्दा बलात्कार भएजस्तो देखिन्थ्यो । उनलाई अपरेसन थिएटरमा लगियो तर अफसोच उनलाई सेतो घुम्टो ओडाएर ल्याइयो । मेरो हातमा सानो अबोध चेलीलाई सुम्पियो । केहि समयमा नैं बच्चीको स्वास्थ्यमा पनि असर परेको हुनाले क्ष्ऋग् मा राख्नुपर्ने भयो । ती नानी तिमी नैं थियौ । एकछिन पछि पोस्टमार्टमको रिपोट आयो । रिपोटले बलात्कार भएको पुष्टि ग¥यो । म अतालिएको थिएँ । गर्भभित्रै तिम्रो बलात्कार भएको रहेछ । पिपासु पुरुषबाट गर्भभित्र त चेली सुरक्षित रहन सकेकी छैनन् अनि बाहिर उसैको हैकम चलेको बस्तीमा तिमीलाई कसरी सुरक्षित रहन देला ? तर तिम्रो सुरक्षा गर्ने जिम्मा अब मेरो थियो । मैले मनमनै बाचा गरेको थिएँ । तिमीलाई यस्तो घटनाबाट टाढा राख्नेछु । छोरी सुक्क सुक्क गरी रुन्छे ।


कस्तुरीका आमाले अझै न्याय पाएकी छैनन् । अपराधीको खोजतलास भएको हो वा खोजतलास गरिएको जस्तै देखाइएको वा टिमलिएको हो ? यो संसार विचित्रको छ । कोहि नारीलाई पूजा गर्छन् । कोहि उनैको जिन्दगीसँग खेलेर नारकीय बनाइदिन्छन् । सबै पुरुषहरु एकै प्रकारका त हुदैनन् । कोहि कस्तुरीका पिता जस्तै आदर्श, नैतिक, कर्तव्यबोध, निष्ठा अनि सदाचारी पनि हुन्छन् । आदर्श पिता ती हुन् जसले सिंगो धर्तिलाई ओत लगाएर उनको ओजनलाई काँधमा राखेर जिम्मेवारी पूरा गर्ने तागत भएका हुन्छन् । आमा समुन्द्र हुन् भने पिता समुन्द्रको छाललाई पनि सहि मार्गमा हिडाउने किनारा हुन् र धर्तीको हरेक स्वरुपलाई स्वीकार्दै मुस्कुराएर आफ्नो काँध थाप्ने शक्ति भएको व्यक्ति नैं पिता हुन् । यस्ता आदर्श पिताहरुको साथ पाउने भाग्यमानीहरु कमै छन् ।

हाम्रो देश नेपाल हजारौं चेलीहरुको आँसुले निथ्रुक्क भिजेको छ । दिनहुँ बलात्कारका घटनाहरु घटिरहेका छन् । नारी, नारित्व र नारी अधिकारको नारा घन्काउनेहरु पनि सत्य, तथ्य उजागर गर्नको लागि ओझेलमा परेको जस्तो देखिन्छ । हजारौं निर्मलाहरुलाई रावणको कुकर्मबाट उन्मुक्ति दिलाउनका लागि यो युगमा सत्यवादी रामको आवश्यकता छ । अरु कुरा त छोडौं न, कोरोना लागेर मृत्यु र जीवनसँग क्वारेन्टाइनमा सिंगौरी खेल्दै गरेका चेलीहरुमाथि पनि बलात्कार भएको छ । म अनभिज्ञ छु, नारीको सुरक्षा कसले गर्ला ? छाडिएका छैनन्, दुई वर्षका बालिकाहरु, गर्भवति, सुत्केरी, अशक्त, अपांग र दृष्टिविहीन पनि । कति त आफ्नो अधिकारको लागि लडेका छन् । कति आफ्नै इज्जत जाने त्रासले दमित भएर बसेका छन् । कोहि यहि केसले आत्महत्या गरेका छन् त कतिलाई प्रयोग गरी निर्ममताका साथ विभत्स हत्या गरिएको छ । आखिर यस्तो अत्याचार कहिलेसम्म सहनुपर्ने हो । कानुनमा मृत्युदण्डको प्रावधान भएपनि पुरुषको अन्तष्करणमा आत्मज्ञान नभएसम्म कुनै चेली सुरक्षित रहन सक्दिनन् ।
पुरुषलाई महिला, महिलालाई पुरुषको साथ चाहिन्छ । यो सत्य कुरा हो । त्यसैले सम्पूर्ण परम पिता परमेश्वरलाई बिन्ति गरी आमारुपी देवी नारीलाई बलात्कारको चित्कारबाट उन्मुक्ति दिने कामको प्रादूर्भाव आदर्श पिता बनेर तपार्इँहरुबाट नै होस् भनी अभिव्यञ्जनाहरुलाई यो लेखमा उजागर गरिएको छ । भोलिका दिनमा आदर्श पिता कहलिने सपना हरेक पुरुषहरुको मनमा सजिएदेखि कुनै चेलि पनि गर्भमा बलात्कृत हुनुपर्ने थिएन । तपाईँ कस्तो पिता कहलिने, तपाईँको हातमा छ ।

(लेखक अधिकारी श्री बालसिद्ध मा.वि. वालिङ–७, केवरे भञ्ज्याङ, स्याङ्जामा शिक्षक हुनुहुन्छ ।)

Facebook Comments Box
TOP