वालिङ : शिक्षकहरुद्वारा राहत कोषमा झण्डै साढे पन्ध्र लाख प्रदान

help_teacher-00000

तोलाकान्त बगाले/वालिङ :

वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुद्वारा वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशी उपलब्ध गराएका छन् ।

वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा वालिङ नगरभित्रका ८० वटा सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकहरुले पन्ध्र लाख ३४ हजार ९ सय ८३ को चेक मंगलबार वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

विश्व समुदाय महामारीकोरुपमा फैलिएको कोरोनासँग जुधिरहेको अवस्थामा नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले राहत कोषमा रकम जम्मा गरेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष एवं रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।

नगरभित्रका मावि तह वा सो सरहका शिक्षकहरुको ५ दिनको र अन्य शिक्षकहरुको ३ दिनको पारिश्रमिक संकलन गरिएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो ।

.

कोभिड १९ का कारण आईपरेको समस्यामा राज्यले बनाएको नीतिलाई सहस्र स्वीकार गरी रकम संकलन गरेर नगरपालिकालाई एकमुष्ठरुपमा उपलब्ध गराईएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवं पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताउनुभयो ।

सहयोग रकम ग्रहण गर्नुहुँदै नगर प्रमुख खाँणले शिक्षक साथीहरुले कोरोना भाईरस नियन्त्रणका लागि अनवरतरुपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुशी ब्यक्त गर्दै सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

“नगरपालिकाले स्थापना गरेको राहत कोषमा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले एकमुष्ठरुपमा हालसम्मको सर्वाधिक राशी उपलब्ध गराएर ठूलो सहयोग गर्नुभएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँहरुले उपलब्ध गराउनुभएको रकमको सही सदुपयोग गर्नेछौं ।”

सामुदायिक विद्यालयका शिक्षकहरुले ठूलो राशीको रकम नगरपालिकाको राहत कोषमा उपलब्ध गराउनुभएकोमा सहयोगीहरुलाई धन्यवाद ब्यक्त गर्नुहुँदै उपप्रमुख कल्पना तिवारीले जुन उद्देश्य राखेर रकम उपलब्ध गराउनुभएको छ त्यो पूरा गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा हालसम्म नगद तथा जिन्सी गरी हालसम्म झण्डै ५८ लाख संकलन भएको छ ।

Facebook Comments Box
TOP