वालिङ: भूपू सैनिक विकास एवं कल्याणकारी संघद्वारा ५१ हजार सहयोग

तोलाकान्त बगाले /वालिङ:

भूपू सैनिक विकास एवं कल्याणकारी संघ जिल्ला कार्य समिति स्याङ्जाले वालिङ नगरपालिकाको राहत कोषमा ५१ हजार सहयोग उपलब्ध गराएको छ । संघका जिल्ला कार्य समितिका पदाधिकारीले वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणलाई मंगलबार उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ लाई मध्यनजर गर्दै गरिएको लकडाउनका कारण दैनिक गुजारा चलाउन गाह्रो भएका परिवार तथा भारत तथा अन्य देशबाट आई क्वारेन्टिनहरुमा बस्नुभएका वालिङका नागरिकलाई भोजन ब्यवस्थापनसँगै आवश्यक सहयोगी स्वास्थ्य तथा आवासका सामग्रीहरुको खरिदमा प्रयोग गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।

“यहाँहरु जस्तै अन्य धेरै ब्यक्ति तथा संघ संस्थाहरुले नगरपालिकालाई आर्थिकसहित अन्य सहयोगहरु गर्नुभएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँहरुसहित नगरपालिकालाई तन, मन, धन दिएर सहयोग गर्नुहुने सम्पूर्णमा वालिङ नगरपालिकाकोतर्फबाट आभार प्रकट गर्दछौं, यहाँहरुले प्रदान गर्नुभएको रकमको सही सदुपयोग हुने विश्वास पनि दिलाउन चाहन्छौं ।”

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा भूपू सैनिक विकास एवं कल्याणकारी संघकोतर्फबाट पनि राहत उपलब्ध गराई सहयोग गरिएको संघका जिल्ला अध्यक्ष सुबेदार चन्द्रबहादुर रखाली मगरले बताउनुभयो ।

लकडाउनका कारण फोनका आधारमा अहिले जति रकम संकलन भयो त्यही ल्याएर नगरपालिकाको राहत कोषमा हस्तान्तरण गरेका छौं आगामी दिनमा फेरि पनि कोरोनाको अवस्थालाई मध्यनजर गरी पुनः रकम हस्तान्तरण गर्ने योजनामा संघ रहेको उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

Facebook Comments Box
TOP