फुटबल टोलीका पूर्व कप्तान सागर थापा सहित सबैलाई सर्वोच्चको सफाई

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित ६ जनालाई सफाई दिएको छ । छ वर्षअघि महानगरीय अपराध महाशाखाले थापासहित ६ जनालाई पक्राउ गरेको थियो ।

म्याच फिक्सिङको आरोप लागेका उनिहरुलाई यस सम्बन्धी त्यतिबेला कानुनको अभाव रहेकाले राज्यविरुद्धको अपराधको मुद्धा लगाइएको थियो। सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो ।

राष्ट्रिय टोलीका तत्कालिन सदस्य विकाशसिंह क्षेत्री, रितेश थापा, सन्दीप राई तथा प्रशिक्ष तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा सबैलाई विषेस अदालतले पनि सफाई दिएको थियो ।

त्यतिबेला म्याच फिक्सिङ सम्बन्धी कानुन नभएकाले उनिहरुविरुद्ध राज्यविरुद्धको अपराध २०४६ एेन लगाएर विषेश अदालतमा मुद्धा दर्ता गरेको थियो। विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएकाले र राज्यविरुद्धको कसुर गरेको नदेखिएको कारण देखाएर उनिहरुलाई सफाई दिएको थियो।

सर्वोच्च अदालतले पनि घटनाका बेला म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको र यस सम्बन्धी कानुन पछि आएपनि घटना अगाडि भएकाले त्यो कानुन लागु नहुने ठहर गरेको छ। मुलुकी फौजदारी अपराध संहिता २०७४ मा म्याच फिक्सिङ सम्बन्धी कसुर र सजायको व्यवस्था छ। राज्यविरुद्धको अपराध २०४६ एेन पनि मुलुकी फौजदारी अपराध संहिता २०७४ आएपछि खारेज भएको छ ।

उनिहरु सबैलाई विश्व फुटबल महासंघ-फिफाले भने आजिवन प्रतिबन्ध लगाएको छ यही कसुरमा।

सर्वोच्च अदालतबाट सफाई पाएपछि सागरले फेसबुकमा लेखेका छन्- सत्यको जित भयो, सर्वोच्च अदालतबाट पनि न्याय पाइएकोमा आज (तर समय, मिहेनत,परिश्रमको मुल्यांकन कसले गर्दिने ? सरकारले ? एन्फाले ? )

सागर, विकाश र सन्दीप डीफेन्डर हुन् भने रितेश गोलकिपर। अन्जन पनि राष्ट्रिय टोलीका पूर्व रक्षक हुन्। नेपाली राष्ट्रिय टोलीले खेलेका विभिन्न खेलमा भएको बेटिङ अस्वभाविक देखिएपछि त्यसमा अनुसन्धान गर्दा खेलाडीबाट म्याच फिक्सिङ भएको देखिएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो ।

घटना सम्बन्धी आफै पनि फिफा र एएफसीले छानबिन गरेका थिए जसपछि यी सबैलाई उसले आजिवन प्रतिबन्ध लगाउने निर्णय भएको थियो । नेपालका अदालतबाट सफाई पाएपनि यी पाँचै जना फुटबल गतिविधीमा भने तत्काल संलग्न हुन पाउने छैनन्।(देशसञ्चार)

Facebook Comments Box
TOP