२५ गते भित्र कर तिरिसक्नु पर्ने सुचना : व्यवसायी आन्दोलनमा उत्रिने चेतावनी

Gyapanpatra


प्रकाश डोटेल/स्याङ्जा :

अर्थ मन्त्रालय अन्र्तगतको राजश्व विभागले व्यवसायीलाई कर दाखिला गर्न गरेको सूचनालाई लिएर स्याङ्जाका व्यवसायीले आन्दोलनमा उत्रने चेतनावी दिएका छन् । झण्डै ३ महिनादेखि जारी लकडाउनले व्यवसाय ठप्प रहेकाले कर दाखिला गर्न नसकिने बताउँदै व्यवसायीले आन्दोलनको चेतावनी दिएका हुन् ।

“सर्बोच्च अदालतले समेत लकडाउनलाई शुन्य समय मानेको छ ।” स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ ले भने, “यस्तो बन्दाबन्दीको समयमा सरकारले व्यवसायीलाई कर दाखिला गर्न बाध्य बनाउन हुदैन् ।” कर दाखिला गर्न बाध्य बनाए जनमत जुटाएर सरकार बिरुद्ध आन्दोलनमा उत्रने श्रेष्ठले चेतावनी दिए ।

व्यवसायीको हितमा काम गर्नुपर्ने सरकारले उल्टै चेपुवामा पार्न लागेको उनीहरुको आरोप छ । उनीहरु भन्छन्, “हामीले कर दाखिला गर्न आलटाल गर्न खोजेको होईन्, तर लकडाउनको समयमा दाखिला गर्न सकिदैन् भनेका हौं ।” राज्यलाई कर दाखिला गर्ने हो व्यवसाय संचालनमा आएपनि एकमुष्ठ दाखिला गर्न सकिने उनीहरुको भनाई छ ।

“जेठ २५ गतेभित्र कर दाखिला गर्न कर बिभागले गरेको आग्रह व्यवसायी बिरुद्ध राज्य निर्मम ठङ्गबाट लागेको हाम्रो बुझाई हो ।” वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले भने, “राज्यले घोषणा गरको नीति तथा कार्यक्रम र बजेट व्यवसायीको हितमा थिएन् त्यस माथि करको बोझ ।”

कर दाखिला गर्न समय सिमा लगाएपछि साना, ठूलो सबै व्यवसायी सरकार बिरुद्ध एकीकृत बनेका छन् । लकडाउनमा समेत व्यवसायीलाई नछाड्ने सरकारले हामीलाई सेवा सुविधा दिन्छ र ? उनीहरुको प्रश्न छ । राज्यबाट संरक्षित भएर सुविधा पाउने बेला करको झन्झट भिराएको उनीहरुको बुझाई छ ।

लकडाउन खुलेपछि कर लिन आग्रह गर्दै व्यवसायीक संघ संगठनले विज्ञप्ती प्रकाशन गर्दै ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले विज्ञप्तीमा कर दाखिला गर्ने समय सिमा संशोधन गर्न र लकडाउन खुलेपछि बुझाउने प्रतिबद्धतालाई नमाने आन्दोलनमा उत्र्न बाध्य हुने उल्लेख गरेका छन् ।

सरकारले कर दाखिलाको सिमा तोकेपछि आक्रोशित बनेका व्यवसायीलाई बैंक तथा बित्तिय संस्थाले ऋणको साँवा, व्याजको किस्ता बुझाउन ताकेताताक गर्दा थप पिडा भएको उनीहरु गुनासो छ । बैंक तथा बित्तिय संस्थाले तारनतार फोन गरेर किस्ता बुझाउन दबाब दिएको समेत व्यवसायीले बताए ।

Facebook Comments Box
TOP