स्याङ्जाको आँधीखोलामा सामुहीक आलुखेती

प्रकाश डोटेल/स्याङ्जा :
२० बर्षबाट बाँझो रहेको स्याङ्जाको आँधिखोला गाउँपालिका १ को जग्गामा सामुहीक आलुखेती शुरु गरिएको छ । आँधीखोला गाउँपालिकाले सत प्रतिशत अनुदानमा विउ, मल, औषधी र प्राबिधिक सहयोग दिएपछि बाँझो जग्गालाई आलुमय बनाउन स्थानीयले शुरु गरेका हुन् ।

कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलुखेती मार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । २० वर्ष पहिला परम्परागत रुपमा आलुखेती गरिने ठाउँमा युवाहरु बैदेशिक रोजगारीका लागि पलायन भएपछि त्यहाँका स्थानीयले आलुखेति गर्न छाडेका थिए र जग्गा बाँझो भएको थियो ।

गाउँपालिकाको सत प्रतिशत अनुदानमा अहिले भक्किम्ले, दत्तेलोटे, त्रिवेणी लगायतका स्थानीय ५४ घर परिवारले दत्तेलोटेमा सामुहीक खेतीमा जुटेको स्थानिय कृषक नारायण पौडेलले बताए । पहिलो चरणमा बाँझो रहेको २ सय ५० रोपनी जग्गामा खेती गरेको तथा बाँझो जग्गामामा आलु खेती गर्न पालिकाले चार हजार पाचँ सय किलो आलुको विउ कृषकलाई उपलब्ध गराएको पौडेलले बताए ।

माटो परिक्षण गरेर माटो सुहाउने भएपछि पालिकाले आलुको विउ, आवश्यक सिप, प्राविधिक सहयोग दिएपछि आफुहरु आलूखेतीमा जुटेको अर्का कृषक मणिरत्न पौडेलको भनाई थियो । कृषि उपजको बजारीकरण र ढुवानीको लागि पालिकाले नै व्यवस्था गरिदिने भएपछि किसानको बाँझो जग्गामा आलुले ढकमम्क भएको पौडेलले बताए ।

सामुहीक रुपमा आलुखेती सुरु भएसंगै आफुहरुका खुसीका दिन आएको बताउदै पौडेलले भने, “रोजगारको लागि गाँउदेखि बजार झर्नेको सख्यामा बृद्धि भएसंगै गाँउनै खाली हुने अवस्थाको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुगेको छ ।” आलुखेतीले गाँउको विरासत पुनः फर्कने र रोजगारका लागी बजार पसेका युवाहरु पनि गाँउ फर्कनेमा कृषक पौड्ेलले आशा राखे ।

यहाँका एक जना कृषकले २५ किलोदेखि तिन सय किलोसम्म बर्खे आलु दुई रोपनी देखि २५ रोपनीसम्म आलु रोपेका छन् । बेसिजनमा रोपेको आलु मिठो र राम्रो हुने तथा मुनाफा आर्जनको हिसाबले पनि उचित हुने गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बताईन् । उनले हरेक बर्ष उत्पादनको क्षेत्र बढाएर जिल्लामै आलुखेतीको नमुनागाउँ बनाउने गाउँपालिकाको सोच रहेको जानकारी दिईन् ।

Facebook Comments Box
TOP