स्याङ्जाका सबै उद्योग वाणिज्य संघहरु एकै ठाँउमा, ‘भन्छन् राज्यले व्यवशायीलाई ध्यान दिएन’।

आँधीखोला खबर :
स्याङ्जाका सबै उद्योग वाणिज्य संघहरुले राज्यले व्यवशायलाई ध्यान नदिएको बताएकाछन् । वालिङ उद्योग वाणिज्य संघको आव्हानमा भएको बैठकका सहभागीहरुले यस्तो बताएकाहुन् ।
बैठकमा स्याङ्जा, भीरकोट, गल्याङ, चापाकोट र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा महिला उद्यमीहरु लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
बैठकमा सहभागीहरुले कोभिड–१९ का कारण मुलुकभर भईरहेको लकडाउन, लकडाउनको अवधीभर व्यवसायिक संस्थाहरुले निभाएको भूमिका, स्थानीय सरकार, प्रशासन, प्रहरी र सरोकारवालाहरुसँगको समन्वय, उद्योग व्यवसायको क्षेत्रमा परेको प्रभाव र व्यवसायको पुनर्उत्थानका लागि आ–आफ्ना राय सल्लाह र सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
बैठकले जिल्लाभित्रका नीजि क्षेत्रका समस्याहरुको विश्लेषण गर्नुका साथै व्यवसायिक पुनर्उत्थानका लागि साझा धारणा सहित संयुक्त प्रेस विज्ञप्ति मार्फत नेपाल सरकारसँग सहुलियतको माग गर्दै ४ बुँदे माग प्रस्तुत गरेको छ ।

.


हेनुहोस् के के छन् माग :

१. मुलुकका करिब १० प्रतिशत ब्यवसायीहरुले बैककर्जाबाट आफ्ना उद्योग व्यापार व्यवसायहरु सञ्चालन गरेका र बिगत ३ महिनादेखिको बन्दाबन्दीका कारण आर्थिक गतिविधिहरु शून्यप्रायः स्थितिमा रहेको हुँदा व्यवसायीहरुले लकडाउन अवधिभरको बैकको सावाँ, ब्याज र किस्ता रकम तिर्न सक्ने स्थितिमा छैनन् । अतः यो समयलाई शून्य समय मानी लकडाउन अवधिभरको सावाँ, ब्याज र किस्तालाई अन्तिम किस्तापछि अवधि लम्बिने गरी व्यवस्था गर्न तथा लकडाउन अवधिभरको ब्याज रकममा ५ प्रतिशत छुटको व्यवस्था गर्न जोडदार रुपमा माग गर्दछौं ।

२. जिल्ला भित्रका बैंक तथा वित्तीय संस्था र वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले व्यवसायीहरुलाई ताकेता. फोन एवम् घरदैलो गरी आतङ्कित बनाउने कार्य तुरुन्त रोक्न जोड्दार माग गर्दछौं ।

३. नेपाल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनलाई नीजि क्षेत्रलाई समेत नियन्त्रण गर्ने गरी संशोधन गर्न लागेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नीजि क्षेत्रलाई आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण, खाद्य तथा गुण नियन्त्रण लगायतका विभिन्न सरकारी नियमनकारी निकायहरुले अनुगमन तथा नियन्त्रण गरिरहेको सन्दर्भमा व्यवसायीहरुलाई आतंकित बनाउने र नीजि क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने किसिमको कदमको बिरोध गर्दै फिर्ता लिनका लागि जोडदार माग गर्दछौं ।

४. जिल्लाभित्रका उद्योगी व्यवसायीहरुको पहलमा आन्तरिक राजश्व कार्यालयको करदाता सेवा कार्यालय स्याङ्जा जिल्लामा स्थापना गर्ने निर्णय भएता पनि कार्यालय स्थापनाको प्रक्रिया शुरु नभईसकेको हुँदा शीघ्र कार्यालय सञ्चालनको व्यवस्था मिलाउन र नेपालकै पूरानो राजमार्गको रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा रहेको पुल जीर्ण भएका कारण ठूला मालवाहक सवारीसाधन सञ्चालन नहुँदा जिल्लाभित्र वस्तुको दुवानी एवम् उद्योग व्यवसायको विस्तार र मूल्यमा समेत प्रभाव परेको हुँदा छिटो भन्दा छिटो पूर्ण क्षमताको पुल निर्माण गर्न जोडदार माग गर्दछौं ।

.

Facebook Comments Box
TOP