स्याङ्जामा पनि आई पुग्यो सलह, मार्नेलाई किलोको १०० रुपैयाँ

स्याङ्जा : भारत हुँदै नेपाल पसेको सलह स्याङ्जामा पनि देखापरेको छ। जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो कीरा देखिएपछि किसान चिन्तित बनेका छन्।

यसैकारण गाउँपालिका कार्यालयले सलह मार्नेलाई प्रतिकिलो १०० रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनु भयाे ।

किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको उहाँले बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौं।’

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ। स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताउनु भयाे ।

यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिनुभयाे । सलह जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनु भयाे ।

किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले जानकारी दिनुभयाे । खेतबारीमा सलह कीरा देखिएपछि त्यसलाई भगाउन स्थानीयवासीले यतिबेला आगो बाल्ने, भाँडाकुँडा ठटाउने गरिरहेका छन्।

याे पनि: स्याङ्जा र कास्कीमा पनि प्रवेश गर्यो सलह किरा !

यसैबीच सलह कीरा लमजुङमा पनि प्रवेश गरेको छ। जिल्लाको सुन्दरबजार नगरपालिका–६, फेदिकुनामा आइतबार सलह कीरा देखिएको हो।

स्थानीयले सलह कीरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ।

कृषि ज्ञान केन्द्र (लमजुङ)का प्रमुख घिमिरेलेभन्नुभयाे, ‘सलह कीराजस्तै देखिएको छ तर ठूलो समूहमा यो कीरा आएको छैन, सलह कीराको एउटा प्रजाति भएको देखिन्छ, यहाँ जम्मा १०–१२ वटा मात्र फेला परेका छन्।’ उहाँका अनुसार सलह कीरा भएको आशंका गरिए पनि पुष्टि भइसकेको छैन। रासस

विज्ञको दावी : नेपालमा सलहले ठूलो क्षति गर्दैन,सुरक्षित हुने तरिका के छ ?

Facebook Comments Box
TOP