सकारात्मक सोच बढाउन गल्याङमा मनोसामाजिक तालिम सुरु


गल्याङ : स्याङ्जाको गल्याङमा सकारात्मक सोच बढाउन मनोसामाजिक तालिम सुरु भएको छ ।
गल्याङ नगरपालिकाको आयोजनामा गल्याङमा सात दिने आधारभूत मनोसामाजिक एवम् प्राथमिक मनोबैज्ञानिक सहयोग तालिम सुरु भएको हो ।
सुरक्षित आप्रवासन परियोजना सामीको प्राविधिक सहयोगमा सुरु भएको तालिम सामाजिक दुरी कायम गरी सञ्चालन भैरहेको छ ।
बुधबार तालिमको उद्घाटनमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सकारात्मक सोच बनाउन यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले धेरै व्यक्तिहरुमा नकारात्मक सोच र चिन्तन बढ्ने गरेको र यसले मनोविज्ञानलाई समेत नकारात्मक असर पर्ने भएकाले यस्तो खालका तालिमहरुको खाँचो बढेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सबै कुरालाई नकारात्मक हेर्ने दृष्टिकोणले अन्ततः आफैलाई हानी पु¥याउछ र त्यसले मानसिक समस्या समेत ल्याउन सक्छ ।’
उहाँले आगामी आर्थिक वर्षको नगरपालिकाको बजेटमा सकारात्मक सोचका लागि र मनोसामाजिक तालिमका लागि बजेट विनियोजन गरी तालिमलाई निरन्तरता दिने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले यो तालिमलाई प्रशिक्षक प्रशिक्षण तालिम (टिओटी) को रुपमा आफुले लिएको भन्दै तालिम पछि अन्य ठाउँहरुमा गएर प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।

.


कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न र अन्य व्यक्तिसामु पनि पु¥याउन आग्रह गर्नुभयो ।
तालिममा गल्याङ नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रतिनिधि, शिक्षक प्रतिनिधि, साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधि गरि २३ जनाको सहभागिता रहेको छ ।

Facebook Comments Box
TOP