स्याङ्जा : लकडाउनमै २६ घरमा पुग्याे खानेपानी

प्रकाश डोटेल/स्याङ्जा :
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका वालिङ नगरपालिका १ धरमपानीका स्थानीयको घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । नगर क्षेत्रका खानेपानीको अभाव भएका गाउँका सबै घरमा धारा जडान गर्ने अभियान अन्तर्गत वालिङ नगरपालिका १ धरमपानीका २६ घरमा खानेपानीको धारा जडान गरिएको हो ।
वालिङ नगरपालिका र स्थानीय उपभोक्ताको श्रमदानसहित बौरादी धरमपानी लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै घरघरमा धारा जडान गरिएको वडाध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्लेले जानकारी दिए । उनका अनुसार वालिङ नगरपालिकाको २७ लाख ५२ हजार ९ सय ३६ र स्थानीय उपभोक्ताको ६ लाख ५ हजार ६ सय ४६ गरी कूल ३३ लाख ५८ हजार ५ सय ८२ रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो ।
नगरमा शुद्ध खानेपानीको सहज आपूर्तिका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको लगानीमा आधा दर्जन बढी खानेपानीका योजनाहरु सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । नगरमा संचालित साना, मझौला र बृहत योजनाहरु मध्ये केही योजनाहरु सम्पन्न भईसकेका छन् भने केहि योजनाहरु निर्माणको अन्तिम चरणमा भएको छ ।
“बस्तीभन्दा झण्डै ५ सय मिटर तल रहेको मूलबाट विद्युतको सहायतामा पानी तानेर बस्तीमाथि रहेको ट्यांकीमा संकलन गरिएको छ ।” वालिङका ईञ्जिनियर ध्रुब रेग्मीले भने, “ट्यांकीमा संकलन भएको पानी स्थानीयको आवश्यकता अनुसार घर घरमा धारा जडान गरेर वितरणको गरिएको छ ।”
पानीका लागि बस्तीभन्दा तल रहेको बौरादी मूलमा आधा घण्टा समय खर्चेर जानुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका सचिव मीरा काफ्लेले बताईन् । “एक गाग्री पानीको जोहो गर्न कम्तिामा पनि आधा घण्टा समय छुट्टयाउनुपथ्र्यो कुवा, ईनारमा गएर पालो पर्खनुपथ्र्यो ।” सचिव काफ्लेले भनिन्, “लिफ्टिङ खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीका लागि घण्टौं हिडेर आउजाउ गर्ने समयको समेत वचत भएको छ ।”
खानेपानी योजना सञ्चालन र मर्मत गर्न धारा जडान गरिएका घरधुरीबाट मासिकरुपमा रकम उठाउने गरेको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार पानीको लागि बस्तीभन्दा तल रहेको कुवा, ईनारमा जानुपर्ने बाध्यताको अन्त्य भई प्रत्येक घरघरमा जडित धारामा पानी आउँदा स्थानीय हर्षित भएका छन् ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…