खाडी र मलेसियाबाट फर्किन आवेदन दिनेको संख्या ५० हजार , तर परराष्ट्रको अध्ययनमा २५ हजार मात्रै

khadi pic worker

खाडी र मलेसियाबाट फर्किन आवेदन दिनेको संख्या ५० हजार , तर परराष्ट्रको अध्ययनमा २५ हजार मात्रै

स्वदेश फर्किन खाडी मुलुक र मलेसियास्थित दूतावासमा परेका आवेदनमध्ये अत्यन्तै संकटमा रहेका नेपालीको संख्या करिब ५० हजार रहेको ती देशस्थित नेपाली राजदूतहरूले बताएका छन् । तर, परराष्ट्र मन्त्रालयले करिब २५ हजार मात्रै तत्काल फर्काउनुपर्ने अवस्थामा रहेको जनाएको छ । त्यसमध्ये पनि अहिले बढीमा सात हजारलाई मात्र फर्काउने सरकारको योजना छ

‘पहिला स्वदेश फर्किने भनेर फाराम भरेका केहीलाई अहिले उतै राम्रोे लाग्न थालेको छ, त्यसैले आवेदन दिएका सबै फर्कन्छन् भन्ने लाग्दैन । अहिले ल्याउने पनि संकटमा परेकालाई मात्र हो,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने । खाडी मुलुक तथा मलेसियामा रहेका आममाफी पाएका, रोजगारी गुमाएका, भिसा अवधि सकिएका, गर्भवती महिला, बिरामी तथा अपांग श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर स्वदेश फर्काइने परराष्ट्रले जनाएको छ । 

स्वदेश फर्किन खाडी मुलुक र मलेसियास्थित दूतावासमा परेका आवेदनमध्ये अत्यन्तै संकटमा रहेका नेपालीको संख्या करिब ५० हजार रहेको ती देशस्थित नेपाली राजदूतहरूले बताएका छन् । कुवेतमा रहेका करिब आठ हजार नेपालीले घर फर्किन आवेदन दिएको त्यहाँस्थित राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । यो प्रारम्भिक तथ्यांक हो । पाँचदेखि आठ हजारसम्म फर्किने दूतावासको आकलन छ । त्यसमध्ये करिब तीन हजारले आममाफी पाएका छन् । 

साउदी अरबबाट कम्तीमा १० हजार श्रमिक फर्किन चाहेको नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले बताए । त्यस्तै युएईमा रहेका १८ हजार श्रमिकले स्वदेश फर्किन दूतावासमा आवेदन दिएका छन् । 

कतारबाट श्रमिक, जेलबाट छुटेका नेपाली, विद्यार्थीलगायत गरी ६ हजारले घर फर्किन निवेदन दिएको त्यहाँस्थित नेपाली राजदूत नारदनाथ भारद्वाजले बताए । त्यस्तै, मलेसियाबाट ६ हजार आठ सयले स्वदेश फर्किन चाहेका छन् । 

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासका अनुसार स्वदेश फर्किन एक हजार एक सय श्रमिकले आवेदन दिएका छन् । उनका अनुसार जेलबाट छुटेकालाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि बिरामी भएका, विद्यार्थी र जागिर गुमाएकालाई प्राथमिकतामा राखिएको छ ।  नयाँ पत्रिकामा खबर छ ।

Facebook Comments Box
TOP