कोरोनाका कारण रोकिएको भीरकोटको हाट बजार सामाजिक दुरी कायम गरी सञ्चालनमा ल्याईने।

चुत्र महत/भीरकोट :
कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरण गर्न जारी लकडाउनले कृषकका कृषिउपजले बजार नपाईरहेका बेला भीरकोटले हाट बजार सञ्चालनमा ल्याउने भएको छ । लकडाउनका कारण कृषिउपज कुहिएर कृषक चिन्तित भईरहेका बेला नगरपालिकाले हाट बजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो । भीरकोट १ मा बसपार्कमा रहेको हाटबजार शनिबारदेखि सामाजिक दुरी कायम गरी सञ्चालनमा आउने भएको छ । किसानले उत्पादन गरेका कृषिउपज बजारीकरणका लागी शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । भीरकोटमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका हाटबजार दैनिक विहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालनमा आउने छ । कृषकको उत्पादन नगरपालिकाले किन्ने र होलसेल मुल्यको २ प्रतिशत राखेर नगरपालिकाले उपभोक्तालाई विक्रि वितरण गर्नेछ । कृषकले आफ्ना उपजहरु विहान ११ बजे अगावै हाटबजारमा ल्याउनुपर्ने र नगरपालिकाले चलेको होलसेल भाउमा किनेर हाटबजारमा बेच्ने छ ।

नगरप्रमखु छायाराम खनालको अध्यक्षतामा बसेको बैठकले नगरभित्र रहेका खेतियोग्य बाँझो जग्गालाई उपयोग गर्ने भएको छ । बाँझो खेतियोग्य जमिनमा ब्लक एरिया मार्फत माटो सुहाँउदो आलू, मकै, धान खेति गर्ने निर्णय गरेको हो । प्रविधिको अधिकतम प्रयोग गरी कृषकलाई कृषिमा आर्कषित गरिने भएको हो । नगरभित्र अहिले लहरे तरकारी बाली तथा फलफूलहरु उत्पादन भएका छन् । बजार नपाएर चिन्तित किसानलाई हाटबजार सञ्चालनमा आउने भएपछि केहि सहजता थपेको छ । कार्यक्रमको सहजीकरण योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा नगरप्रवक्ता एवं कृषि संयोजक दिपेन्द्र केसी, वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारीसहित नगरभित्र व्यसायिक कृषि गर्ने कृषकहरुको सहभागिता थियो ।

Facebook Comments Box
TOP