रुकुम घटनाप्रति उत्पीडित समाज स्याङ्जाद्वारा गृहमन्त्रालयको ध्यानाकर्षण

भवानी अधिकारी/स्याङ्जा : रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतिमा घटित अमानवीय घटनाको वस्तुगत छानविन गरी दोषीमाथि कारवाही गरियोस् भन्दै उत्पीडित जातीय उत्थान तथा सेवा समाज स्याङ्जाले प्रशासन कार्यालय स्याङ्जामार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।  

समाजले ज्ञापनपत्रमार्फत चार दिनअघि जाजरकोट भेरी नगरपालिकाका नवराज बि.क. र रुकुमको चौरजहारी नगरपालिकाकी सुष्मा मल्लबीचको प्रेम सम्वन्ध र हुन गएको विवाहमा केटी पक्षकाले अछुत जात भन्दै गरिएको अमानवीय कार्यको भर्त्सना गरेको छ । 

समाजका अध्यक्ष अमृत नेपालीद्वारा हस्ताक्षरित पत्रमा स्थानीयले अछुत, तल्लो जातको केटाले आफूभन्दा ठूलो जातको केटी भगाउन खोजेको भन्दै नवराज बिकसहितका साथीहरुलाई लखेट्दै साङघातिक आक्रमण गरेको, नवराज बिक र टिकाराम बिक भेरी नदीको किनारमा मृत भेटिनु र अन्य ५ जना अझै पनि बेपत्ता भएको जानकारी हुन आएको प्रति ध्यानाकर्षण गराएको उल्लेख छ । 

अन्तरजातीय प्रेमलाई विवाहका सन्दर्भमा जातीय विभेद गर्दै विभत्स हत्या हुनु अत्यन्त दुखद रहेको बताउँदै यस्ता खालको जघन्य अपराधिक घटना घट्नु र राज्य उदासीन हुन मुलुकको संविधान ऐन कानुनमा व्यवस्थाको धज्जी उडाइनु हो भनिएको छ । सो ज्ञापनपत्रमा बेपत्ता सबैको तत्काल खोजी गरी हत्यामा सलग्नलाई हदैसम्मको कानूनी कारबाही गर्न  समाजको माग छ । 

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले ज्ञापनपत्र बुझ्दै तत्काल गृह मन्त्रालयमा पठाउने बताउनु भयाे । 

Facebook Comments Box
TOP