शिक्षण अस्पतालबाट स्याङ्जा आएका ६ जना आइसोलेसनमा

भवानी अधिकारी/स्याङ्जा :  जिल्ला अस्पताल स्याङ्जामा  ६ जनालाई आइसोलेसन कक्षमा राखिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितसँग सम्पर्कमा रहेको भन्दै २ वर्षीय बालकसहित ६ जनालाई आइसोलेसन राखिएको जिल्ला अस्पताल प्रमुख डा.शुशिल मरासिनीले जानकारी दिए ।

पुतलीबजार नगरपालिका वडा नं. ४ निबासी उनीहरु आफ्नो बच्चाको उपचारका लागि शिक्षण अस्पतालमा पुगेको र ५ दिनअघि स्याङजा घर फर्केको डा.मरासिनीले बताए। आइसोलेसनमा राखिएकामा ३ जना महिला र ३ पुरुष छन् । 

चिकित्सकको प्रत्यक्ष निगरानीमा शनिबार साँझदेखि आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ । सबैका स्वाबको नमुना  संकलन गरी पीसीआर परीक्षणका लागि  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका प्रमुख डा. मरासीनीले जानकारी दिए ।  

‘चिकित्सकीय समूहको प्रत्यक्ष निगरानीमा आइसोलेसन कक्षमा राखिएको छ’ डा. मरासीनील भने–‘संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका र संक्रमित क्षेत्रबा आएका कारण प्रहरीको सहयोगमा अस्पताल ल्याएको  हौंँ।’ 
६ जनाकै स्वास्थ्य अवस्था  सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

Facebook Comments Box
TOP