जिल्लाको सुरक्षा अवस्था बुझ्न प्रदेश प्रहरी प्रमुख स्याङजामा

आँधीखोला खबर/स्याङजा :
गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले स्याङजाको लकडाउन पालनाको अवस्था तथा सुरक्षा अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।
उहाँले जिल्ला प्रहरी कार्यालय स्याङजा साथै प्रदेश ५ सँगको सिमाना राम्दी तथा कास्कीसँगको सिमाना कुभिन्डेको अवस्थाका बारेमा जानकारी लिनुभएकोे हो । सो अवसरमा सिमा नाकामा प्रहरी तथा स्वास्थ्यकर्मी सहितको संयुक्त हेल्थ डेस्कको निरीक्षण समेत गर्नुभएको हो ।
अनुगमन तथा निरिक्षणका क्रममा गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुले विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमणलाई फैलन नदिन जिल्ला अन्तर्गत गरिरहेका विभिन्न गतिविधिहरु, लकडाउनको कार्यान्वयन साथै जिल्लाहरुको वर्तमान अवस्था र प्रहरी परिचालनका विषयमा जानकारी लिई आवश्यक थप तयारी गर्न उक्त स्थलगत अवलोनक एवं निरीक्षण गरिएको बताईएको छ ।

.

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल र जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक बिमलराज कंडेल


निरीक्षणको क्रममा प्रहरी नायव माहानिरीक्षक अर्यालले जिल्लाको सिमामा रहेको संयुक्त हेल्थ डेस्कमा खटिएका कर्मचारीहरुसंग विद्यमान अवस्था बारे जानकारी लिनुभई स्वास्थ्य तथा अन्य विषयमा कुनै समस्या आईपरे तत्कालै जानकारी गराउनु हुन समेत आग्रह गर्नुभयो ।
प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखाहरु, मेस, ब्यारेक लगायत अन्य स्रोत साधनहरुको निरीक्षण गर्नु भएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक बिमलराज कंडेलले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था लगायत कोरोना भाईरस संक्रमण फैलन नदिन जिल्ला अन्तर्गत प्रहरीले गरिरहेका विविध गतिविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो ।
प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले विश्वव्यापी रुपमा फैलिई रहेको कोरोना संक्रमणको जोखिम नेपालमा पनि बढिरहेकाले आफू सुरक्षित रहि आम नागरिकलाई यसको संक्रमणबाट बचाउन प्रहरी अग्रपंक्तिमा रहि काम गर्दै आईरहेको कुरा बताउँदै यसको रोकथामका लागि दिएको जिम्मेवारी उच्च सतर्कता र संवेदनशिलताका साथ निर्वाह गर्न गराउन निर्देशन दिनुभएको छ ।
त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी संगठन सवलीकरण र सुद्धिकरणको मार्गमा अग्रसर रहेको कुरा बताउँदै आम नागरिकका अपेक्षा अनुरुपको जनमुखी एवं उच्च आचरणयुक्त सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
साथै उक्त निरीक्षण कार्यक्रममा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट समेतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
TOP