नेकपा विवाद मिलाउन चीनको खुल्लमखुल्ला परेड

राजन कुईंकेल :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चरम राजनीतिक संकट तत्कालका लागि थामथुम पारिएको छ । भूसमा सल्केको आगो झै बनेको नेकपाको घर झगडा मिलाउन यस पटक उत्तरतिरको छिमेकीले निकै ट्यांकर पानी खन्याउनु पर्यो । पानी नखन्याए सल्केको आगोले घर डडाउने र घर बनाउन आफूहरुले गरेको लगानी खेर जाने सन्देश ‘माथिल्लो राता घरे ठूला बा’ले ‘तल्लो राता घरे आमै’लाई दिए लगत्तै परिणाम पनि देखियो । बाको सन्देश पाएलगत्तै दूत परेवा बनेर वल्ला घर र पल्ला घर चहारेको खुबै रमाइलोसँग देखियो ।

यस पटकको नेकपाको गाईजात्रे घरझगडामा चिनियाँ मध्यस्थताले नेपालका कम्युनिष्ट नेताहरुले लगाउँदै आएको राष्ट्रवादको जामा भने खुस्केर दुनीञाले देख्ने गरी ह्वाङ्गै बनाइदियो । कोरोनाको बन्दाबन्दी भएकाले कुरीकुरी भएन भन्ने नेताहरुलाई लागेको होला । हुनत यस्ता प्रकरणहरुमा यसअघि दक्षिणतिरका मित्रहरुको सर्याक सुरुक बढी भएको देखेकाहरुलाई उत्तरतिरको मारुनी नाच रमाइलो लागेको पनि हुनसक्छ । अर्कातिर यस्ता प्रकरणमा राष्ट्रवादको लेप लगाएर अरुलाई खुइल्याउन लाग्नेहरु नै सत्तामा भएपछि तै चूप मै चूप बनेका पनि होलान् । आपत्ती जनाउनु पर्ने त विपक्षीले हो । केपी ओली नेतृत्वको नेकपाले यस्तो विपक्षी नेतृत्व पाएको छ कि मिल्यो भने उसले नै स्वागतमा विज्ञप्ति निकाल्ला जस्तो छ । नागरिक समाज भन्ने त दलका दौरा बनिसकेका छन् । न अस्तित्व, न एकता । दलीय लक्ष्य भेदनका लागि औजार बनाइएकाहरु त कि सत्ताको तावेदारीमा छन् कि एकाध थान नियुक्ति लिएर चाकरीमा लिप्त ! बाँकीका आवाज लत्याइएकै छ ।

उसो त नेपालका दुई ठूला कम्युनिष्ट भँगालाहरुलाई एउटै बनाउन उत्तरी छिमेकीको निकै लगानी रहेको उतिबेलै प्रष्ट भएकै थियो । कांग्रेसको पोल्टामा बसेर सत्ता सुन्दरी खेलाउँदै एमालेको कोखमा नेकपाको गर्भ राख्न पुग्ने तात्कालीन माओवादीलाई त्यतैको प्रोत्साहन थियो भन्ने त समयक्रममा पटाक्षेप हुँदै आएको विषय हो । देउवा नेतृत्वको सरकारमा बसेर एमालेसँग देशभर चुनावमा गठबन्धन बनाउनेदेखि एमाले र माओवादी केन्द्रलाई लेप लगाएर नेपालमा बलियो कम्युनिष्ट सत्ताकेन्द्र बनाउने चिनियाँ चाहनाले काम गरेको त खुलेकै थियो । ति सबै काम फत्ते गराउन निकै जाँगर, आँट र फरास भएकी नेपालस्थित चिनियाँ राजदूतले लगावपूर्वक गरेको देखिएकै हो ।

तर समयक्रममा ‘बोकेको कुकुरले मृग मार्दैन’ भनेझै लोभी पापीको गठजोडबाट टाँसिएको नेतृत्वमा लोभको भोक जागेपछि एकपछि अर्का विवादका प्रकरण छताछुल्ल हुन थाल्यो । अरुलाई मान्छे नै नदेख्ने ओलीको आचरण, अर्काको नेतृत्वमा रहन नसक्ने दाहालको दिल, पार्टीभित्र अपमानको प्याला पिलाइएका नेपालको नियति, सत्ताबाहिर रहनुपर्दाको वामदेवको बेचैनी जस्ता कारणले पार्टी विभाजनको डिलतर्फ डोरियो । अझ दल फुटाउन र विपक्षीलाई संवैधानिक परिषदमा निषेध गर्न ल्याएको दुई अध्यादेश विवादको झुरिएको खरमा आगो सल्काउन काफी भयो ।   

त्यही बीचमा बैशाख १५ गते उत्तरी छिमेकी चीनका शक्तिशाली शासक राष्ट्रपति सी चिनफिङले बेइजिङबाट नेपालका समकक्षी विद्या भण्डारीलाई शितलनिवासमा टेलिफोन घुमाए । उक्त फोन संवादको उद्देश्य विशुद्ध कोरोना कहरको चिन्ता थियो वा नेकपाभित्रको राजनीतिक रडाकोमा ‘चितुवा कराउनु र बाख्रा हराउनुु’ को नेपाली उखानको संयोग भनेर त यो पंक्तिकार त्यही बेला आशंका व्यक्त गरेकै थियो । समयक्रमले आशंका पुष्टि मात्र गरेन पात्रहरु प्रहसनमै उत्रिए ।

आफ्ना राष्ट्रपतिको टेलिफोन संवादको केही दिनमै शितलनिवासमा पुगेर जायजा लिएकी चिनियाँ राजदूत हाउ याङछीले बिहीबार १८ बैशाखमा प्रधानमन्त्री केपी ओलीसँग उनकै निवास बालुवाटारमा पुगेर विस्तृत छलफल गरिन् । शनिबार नेकपाको सचिवालय बैठक बस्ने पूर्वसन्ध्यामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसँग अलग अलग वार्तालाप गरिन् । दाहाल र नेपाललाई याङछीले भेट्नुपूर्व नै पार्टी कमिटीको सबै तहमा अल्पमतमा परेका भनिएका प्रधानमन्त्री ओलीको मनोबल यति उच्च भैसकेको थियो कि, १ मे श्रमिक दिवसको सन्दर्भमा दिएको वक्तव्यमा आफ्ना विरोधीहरुलाई निशाना साँधे । चेतावनीको शैलीमा निकालिएको वक्तव्यमा उनले नेपाली सचारमाध्यमलाई बाँकी राखेनन् । पार्टी फुटाउन लागेकोसम्मको आरोप बर्षाए ।

यसरी बेइजिङको बलमा, चिनियाँ राजदूतको झण्डै रोहवरमा, करिब फूटको सँघारमा पुगेको नेकपा विभाजन हुनबाट रोकिएको छ । पार्टी र राज्यसत्तामा केपी ओली फेरि एकपटक विजेताका रुपमा पेश भएका छन् । ओलीका विप्लवीहरुले चिसैपानीले नुहाएर बहादुरी देखाएका छन् । अंशबण्डा गरेर बाकलो दाल खाने चाहना राखेकाहरुले पनि संयुक्त परिवारमै बसेर रुखोसुखोमा टार्नुपर्ने भएको छ ।

एक अर्थमा चिनियाँ चासो र राजदूूत याङछीको यो मिहिनेतलाई धन्यवाद दिए हुन्छ, कि पटक पटक पार्टी फुटाउँदै राज्यसत्ताको विकृत खेल खेल्नेहरुको सपना यस पटकलाई कम्तिमा रोकिएको छ । योसँगै दक्षिण छिमेकी भारतबाट हुने गरेका यस्ता खेल अहिलेलाई हेर्नु परेन । काठमाडौंको मुद्दा नेपालीका विवेक र हातबाट होइन, समस्या वा समाधान दुबैको प्याकेज दिल्ली र बेइजिङबाटै भएर आउने भयो । अर्को पक्ष पनि यस पटक पटाक्षेप भएको छ कि, अरुको आन्तरिक मामलामा अस्तक्षेप नगर्ने असल मित्रको उपमा पाएको चिनियाँ कूटनीति अब देशीय होइन दलीय आन्तरिक मामिलामा पारदर्शी बनेको छ ।   ईमेजखवरबाट

Facebook Comments Box
TOP