गल्याङ नगर अस्पतालका कर्मचारीको पारिश्रमिक बढाइयो, नगरपालिकाका ५ ठाउँमा क्वारेन्टाइन बनाईने

गल्याङ : गल्याङ नगरपालिकामा थप पाँच सय बेड क्षमताका क्वारेन्टाइन निर्माण हुने भएको छ ।
बुधबार बसेको नगर कार्यपालिका बैठकले विभिन्न पाँच ठाउँमा पाँच सय क्षमताका क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।
भारतबाट आउन सक्ने सम्भावित व्यक्तिहरुलाई मध्यनजर गर्दै नगरपालिका भित्र पाँच ठाउँमा पाँच सय बेड क्षमताको क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय भएको नगरप्रबक्ता तथा वडा नम्बर एकका अध्यक्ष गणेश बस्यालले जानकारी दिनुभयो । नगरपालिकामा अहिले एक सय ३२ जना सम्म क्वारेन्टाइनमा बसेर अधिकांश घर फर्किसकेका छन् ।
स्याङ्जा जिल्लामै सबैभन्दा धेरै संख्या गल्याङ नगरपालिकामा क्वारेन्टाइनमा बसेका नगरपालिकाले जनाएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राखेर उनीहरुलाई विदाई गरिएको छ ।
बैठकले बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुलाई अझै कडाइका साथ क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरेको प्रबक्ता बस्यालले जानकारी दिनुभयो ।
यस्तै, रामनदी धाममा कडाइका साथ चेकजाँच भएपनि गल्याङ नगरपालिकामा जोडिएका झोलुङ्गे पुलहरुबाट केहि व्यक्तिहरु लुकिछिपी आएको सूचना आएकाले त्यस्ता क्षेत्रमा कडाइका साथ चेकचाँच गर्ने निर्णय पनि भएको छ ।
यसैगरी लकडाउनलाई अझै कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गर्ने निर्णय पनि भएको प्रबक्ता बस्यालले बताउनुभयो ।

.


नगर अस्पतालका कर्मचारीको तलव बढ्यो :
बैठकले गल्याङ नगर अस्पतालको बारेमा अध्ययन गर्न गठीत कार्यदलको प्रतिबेदन सर्बसम्मत पारित गरेको छ । गल्याङ नगरपालिकाको पूर्ण स्वामित्वमा रहेको गल्याङ नगर अस्पतालमा भएको घटनाको विषयमा छानविन गर्न बनेको समितिले बुझाएको प्रतिबेदन पारित भएको हो ।
प्रतिबेदनमा आन्दोलनका कारणहरुलाई खोतलीएको नगरप्रबक्ता बस्यालले स्पष्ट पार्नुभयो ।
बैठकले बैशाख एक गते देखि लागू हुने गरी नगर अस्पतालका कर्मचारीको पारिश्रमिक बढाउने निर्णय पनि गरेको छ ।
गल्याङ नगरपालिकाले नगर अस्पतालको स्वामित्व नलिदासम्म साविकको सामुदायिक अस्पतालबाट कर्मचारीले पाएको पारिश्रमिक बृद्वि गरिएको हो ।
यसअघि छ हजार सम्म पारिश्रमिक लिएकाहरुलाई १३ हजार पाँच सय दिइएको छ भने अन्य तहगत रुपमा पारिश्रमिक बढाइएको छ ।


कर्मचारीलाई समस्या परे खवर गर्नुहोस् : नगर प्रमुख अधिकारी
यसैवीच, कार्यपालिका बैठक लगत्तै नगरप्रमुख भुपराज अधिकारीले अस्पतालका कर्मचारीहरुलाई सम्बोधन गर्दै कुनै पनि समस्या भएमा खबर गर्न आग्रह गर्नुभएको छ ।
नगर अस्पतालको समस्याको विषयमा जानकारी नै नपाउँदै अन्य कुराहरु सुन्न बाध्य भएको भन्दै उहाँले पहिले विषय राख्ने र पुरा नभए आन्दोलनमा जाने प्रक्रिया हुने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले अस्पतालमा कुनै राजनीतिक भागबण्डा गर्ने वा आफ्नो मान्छे राख्ने जस्ता साना तिना काम आफुबाट नहुने भन्दै ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।
कामको आधारमा सबैको मुल्याङ्कन हुने भएकाले पारिश्रमिक वा अन्य विषयमा कुनै प्रकारको चिन्ता नलिन उहाँले आग्रह गर्नुभयो ।
अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख अधिकारीले कसैले अस्पतालको विषयमा राजनीति गर्न खोजेको भन्दै राजनीति गर्ने ठाउँ अस्पताल नभएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देविसरा थापा, अस्पताल सञ्चालक समितिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, स्वास्थ्य शाखा प्रमुख लिला भण्डारी, अस्पतालको बारेमा जाँचबुझ गर्न बनेको समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
नगर अस्पतालका कर्मचारीहरुले केही समय पहिले आठ महिना देखिको तलव नपाएको भन्दै आन्दोलन गरेको समाचार आएको थियो ।

Facebook Comments Box
TOP