जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नती गर्न माग

हिमलाल पराजुली/स्याङ्जा : कोरोना संक्रमितका ४ जना बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नती गर्नुपर्ने माग दिनप्रति दिन बढ्दै गएको छ । सदरमुकाममा रहेको जिल्ला अस्पतालले बालबालिका र प्रसुती सेवाको लागि गण्डकी प्रदेशका अन्य जिल्ला अस्पतालले भन्दा राम्रो सेवा दिएको चर्चा चलिरहेकै बेला यो अस्पताललाई एक सय शैय्याको बनाउनु पर्ने जिल्लाबासीको माग रहेको छ ।
पुतलीबजार नगरपालिका–३ का समाजसेवी अनन्त कुमार श्रेष्ठले जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नती गरेर कम्तिमा पनि एक सय शैय्याको बनाउनु पर्ने बताए । श्रेष्ठले भने ‘स्याङ्जाबासीका लागि मात्रै नभएर छिमेकी जिल्ला पर्वत र तनहुँका केही स्वास्थ्य संस्थाले थप उपचारको लागि रिफर गर्न यो अस्पताल पायक पर्ने हुँदा स्तरोन्नती अति आवश्यक छ ।’
पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिरहेको र प्रदेश, संघिय सरकारसंग जिल्ला अस्पतालको स्तरोन्नतीको लागि कुरा भईरहेको बताइन् । ‘हामीले स्थानीय तहबाट गर्नुपर्ने जति काम गरेका छौ, अस्पताललाई थप व्यवस्थित गर्न अब प्रदेश र संघिय सरकारले ढिला गर्नु हुँदैन । यसको लागि सबैको साथ र खबरदारी आवश्क छ’ नगरप्रमुख क्षेत्रीले भनिन् । २०५७ सालमा स्थापना गरिएको स्याङ्जा जिल्ला अस्पतालमा १५ बेडको क्षमता हुनुपर्ने भएपनि मन्त्रालयको निर्देशनमा १० बेड थप गरि हाल २५ बेड क्षमताको बनाईएको छ ।
अस्पतालकी मेडिकल अधिकृत अन्जु अर्यालले यहीं अवस्थामा अस्पतालको संरचनाले धान्न नसक्ने भएकोले स्तरोन्नती गर्नुपर्ने अति आवश्कता रहेको बताइन् । अधिकृत अर्यालले भनिन्– ‘अहिलेको जटिल अवस्थाले दिन प्रतिदिन बिरामीको संख्या बढ्दै जाने भएकोले अस्पतालको स्तरोन्नती र आवश्यक उपकरणको ब्यवस्था गर्नुपर्ने देखिन्छ ।’ १० बेड क्षमताको आइसोलेसन वार्ड अहिले ४ जना संक्रमितको उपचार भइरहेको छ । बिरामीहरु सामान्य अवस्थामा रहेको कोरोना बिशेष फोकल पर्सनसमेत रहेकी डा. अर्यालले जानकारी दिइन् । अस्पतालमा दुई जना स्थायी चिकित्सक र एक जना कन्सलटेन्ट, करारका ६ जना चिकित्सकसहित ५६ जना कर्मचारी रहेका छन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन र स्वास्थ्य निर्देशक विनोद विन्दु शर्मा बिहिबार जिल्ला अस्पताल स्याङ्जा पुगेर कोभिड–१९ बाट संक्रमित भई आइसुलेसनमा उपचार गराइरहेका बिरामीको स्वास्थ्य अवस्था बुझेका छन् । सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार अस्पतालको स्तरोन्नतीका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएकी थिइन् । हाल २५ शैय्याको मात्रै रहेको जिल्ला अस्पताल स्तरोन्नती भएमा स्याङ्जा जिल्ला बासिलाई मात्रै नभएर पर्वत र तनहुँका केही स्थानीय तहका नागरिकलाई समेत उपचारमा सहज हुने देखिन्छ ।

Facebook Comments Box
TOP