भीमप्रसादको पीडा : न बंगुर बेच्‍न पाइयो, न ऋण तिर्न सकियो

भवानी अधिकारी/स्याङ्जा : वालिङका बंगुरपालक भीमप्रसाद लुईंटेल आफ्नो फर्मभरी बढ्दै गरेका बंगुर र तिनीहरुका पाठापाठी हेर्दै चिन्तित हुन्छन्। उर्लदो व्यवसायमा कोरोना संक्रमणसँगै सरकारले गरेको लकडाउनको घोषणापछि देखिएको सुन्यताले उनलाई चिन्तित बनाएको हो। झण्डै ५२ दिन पुरा भएको लकडाउनका कारण उनले लाखौं रुपैयाँको ब्यापार घाटा भएको जनाएका छन्।

झण्डै ६ वर्षअघि वालिङ नगरपालिका-९ पिपलटारीमा इन्द्रेणी बंगुरपालन उद्योग प्रालि सुरु गरेका लुईंटेलको व्यवसाय राम्रो हुँदै गएपछि वालिङ-१० मदिखोलामा पनि शाखा बिस्तार गरे। अन्तत : उनी गण्डकी प्रदेशको नमूना बंगुर पालक बन्न सफल बने। मासिक करिब १० लाख भन्दा बढीको बराबरको कारोवार गर्ने उनको व्यवसायमा आएको मन्दीसँगै बंगुरलाई आवश्यकता अनुरुपको खाना खजाना खुवाउन नपाएको उनको दुखेसो छ। फर्ममा साना ठूलागरी ६ सय भन्दा बंगुर रहेको लुईंटेलले बताए। २ सय ५० वटा माउ बंगुर छन्। उनीहरुले मासिक २ देखि ३ सय भन्दा बढी पठापाठी जन्माउछन्। लकडाउनसँगै फर्ममा ३ सय ५० भन्दा बढी बेच्न तयार भएका पठापाठी थन्क्याएर राख्नु परेको लुईंटेलको गुनासो छ। समय पुगेका पाठापाठी बेच्न नपाउँदा आम्दानीको बाटो रोकिएको छ। दानाका लागि मासिक ३ लाख ५० हजार, कर्मचारी खर्च मासिक एक लाख ५० हजार र बैंकमा मासिक ३ लाख रुपैंयाको जोहो गर्न कठिन परेको उनको भनाई छ।

‘व्यवसाय ठप्पै छ। दाना उत्पादकले नगद बिना दाना पठाउन मानेनन्’ उनले भने ‘दैनिक १५ देखि २० बोरा दाना, घरायशी अन्नपात आवश्यक पर्छ।’  व्यवसायमा मन्दीसँगै बंगुरका लागि आवश्यक पर्ने दाना, कर्मचारीको तलब र बैंकको ऋण बुझाउन कठिन हुदाँ व्यवसाय नै धराशायी बन्ने हो कि भन्ने लुईंटेलको चिन्ता छ। फर्ममा १० जनले रोजगार पाएका  छन्। सेनामा रहेर राष्ट्रसेवागर्ने उनको चाहनालाई १० वर्षे जनयुद्धले विदेश जान वाध्य गरायो। ७ वर्षे वैदेशिक रोजगारको अनुभवपछि उनले जन्मथलो वालिङमा फर्केर बंगुर पालन गर्दे आएका हुन। दश वर्षका लागि १८ रोपनी जग्गा भाडामा लिएर फर्म सञ्चालन गरेका छन्।  फर्ममा बंगुरका लागि विभिन्न झण्डै २ सय कोठा छन्। प्रजनन कोठा, माउ, गर्भवती पाठा, पाठी कक्ष, बिक्री गर्ने बंगुर राखिने कक्ष, व्याउने बंगुर राख्ने कक्ष, बिरामी बंगुर राख्ने कक्ष, स्वस्थ्य बंगुर कक्ष, भाले लगाउने कक्ष, बच्चा छुटाउने कक्ष भनेर छुट्टाछु्ट्टै बंगुर राख्ने ब्यवस्था मिलाइएको छ।

६ वर्षअघि २७ वटा पाठापाठीसहित ४ लाखबाट सुरु गरेको सो फार्ममा अहिले ३ सय माउ (ठूला) र २ सय वटा पाठापाठी बंगुर छन। अहिले सवा करोड भन्दा बढीको लगानी रहेको छ। फर्ममा ल्याण्ड्रेस र ड्यूरोक नामका बंगुर पालिएका हुन्। फर्ममा पाठापाठी किन्नका स्याङ्जा लगायत पाल्पा, तनहुँ, लम्जुङ,कास्की, पर्वत, बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरु आउने गरेका छन्। एक महिने पाठापाठीको मुल्य ५ हजार ५ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ।

फर्ममा स्थायी रुपमा ३ सय वटा बंगुर राखिन्छ। केही प्रजननका लागि त केही मासुका लागि पालिने गरिएका छन्। मासुका लागि बेचिने बंगुर एक सय ५० देखि २ सय केजी सम्मका हुन्छन्। आम्दानी मध्ये ४० प्रतिशत खर्च हुने र ६० प्रतिशत बचत हुने गरेको छ। उनको फर्ममा ९ जनाले रोजगार पाएका छन्। व्यवसायले नाम र दाम दुबै दिएको छ। गण्डकी प्रदेशको नमूना फर्म हो। गण्डकी प्रदेश सरकारले इन्द्रेणी बंगुर पालनफर्मलाई प्रदेशकै नमूना फर्म घोषणागरी गतवर्ष १० लाख नगद सहयोग गरेको थियो।राज्यले मुख मिलाइरहने र किसानलाई गहना बनाउँदा समस्या थपिएको बताउँदै किसानलाई दराजमा थन्क्याउने गहना नबनाउन आग्रह गर्दै उनले भने ‘किसानका कुरामा राज्यलाई मौन नबस्न सुझाव दिए।’

Facebook Comments Box
TOP