असिना पानीले काँक्रो खेतीमा लाखौंको क्षति

Kakro pic

भवानी अधिकारी/स्याङ्जा : केही दिनअघिको असिना पानीले खेमनारायण चापागाईको मात्र ४ लाख रुपैयाँ बराबरको तरकारी खेतीमा क्षति पुगेको छ । पुतलीबजार नगरपालिका १३ निवासी चापागाईले करिब ५ रोपनी जग्गामा काँक्रो, करेला,  लौका, घिरौला, सिमी लगायतका तरकारी लगाएका थिए । उनको बारीमा परेको असिना पानीले ४ लाख बराबरको क्षति पुगेको उनले बताए । 

बिगत केही वर्षदेखि तरकारी खेती गर्दे आएका छन् उनी । यसवर्ष उनले काँक्रोको ७ सय झाल (बोट) रोपेका थिए भने अरु (घिरौला, करेला, लौका) ३० देखि ४० झाल थिए । पहिलो दिन ३८ किलो काँक्रो बेचेका थिए उनले । भोलिपल्ट परेको असिना पानीले सबै सखाप बनायो । 

घरमै आएका ब्यापारिले प्रतिकिलो ८० रुपैयाँमा खरिद गरेका थिए । निकै रहरलाग्दो गरी लहलह फैलिएर पहेंलै फुलेका काक्राका फुलहरु र टिप्न लायक काँक्रोलाई असिना पानीले चुटेर काम नलाग्ने बनाए। उनले भने, ‘यसपटक ६-७ टन काँक्रो फल्ने अनुमान थियो ।’ बिगतका केही वर्षदेखि उनले व्यवस्थित रुपमा मौसमी तथा बेमौसमी तरकारी फलाउने गरेका छन् । गत वर्ष पनि उनले झण्डै ५ टन काँक्रो घरबाटै बेचेको बताए । 

‘तरकारी बोक्दै बजार खोज्नु पर्देन, ग्राहक बारीमा तरकारी किन्न आउँछन् ’, उनी भन्छन्, ‘असिनाबाट बचेका १ टन जति होलान्, त्यो पनि प्रतिकिलो ६० मा बेचेको छु । यस वर्ष ४ लाख काँक्रोबाटै आम्दानी गर्ने मेरो लक्ष्यलाई असिना पानीले फुटाइदियो ।’  

उनका छिमेकका तिलकनारायण तिवारीको पनि हालत उस्तै छ । उनले झन १ हजार बोट काँक्रो लगाएका थिए । उनको पनि ६ लाखभन्दा बढीको क्षति पुगेको छ । खुल्ला खेतमा र टनेलमा तरकारी लगाउने उनको असिना पानीले टनेलसमेत भाँचेको छ । गाँउका मधु थापा, ख्यामनारायण तिवारी, तेजप्रसाद अर्याल, बिष्णुप्रसाद रेग्मी, लक्ष्मण रेग्मी, बिष्णुमाया लामिछाने, बिष्णुमाया घर्ती, तिलप्रसाद अर्याल, मुक्तिनारायण सुवेदी, डवलप्रसाद बस्याल लगायतले अहिले असिना पानीका कारण लाखौं रुपैयाँ नोक्सान बेहोर्नुपरेकोमा चिन्तित छन् । 

गाउँलाई कृषि मार्फत आर्थिकोपार्जन गर्न स्थानीयबासी मिलेर विभिन्न किसिमका व्यावसायिक तरकारी उत्पादन गर्दै आएका छन् । गत वर्षमा राम्रो उत्पादन भए पनि यसपाली भने प्रकृतिले साथ दिएन । उनीहरुले लगाएका तरकारीको फल पाउने बेलामा असिना पानीले ठूलो क्षती पुर्‍यायो भन्छन् अर्का किसान तिलकनारायण तिवारी । ‘तीन-चार महिनादेखिको नियमित मेहनत, परिश्रम र लगानीलाई एकै छिनको असिना पानीले नष्ट पारिदियो ’, उनले थपे, ‘यिनै कारणले गर्दा किसानको कहिल्यै प्रगती हुन नसकेको ।’

Facebook Comments Box
TOP