आजबाट रमजान सुरु, घरैमा नमाज पढ्न मुस्लिम आयोगको आह्वान

इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आज (शनिबार) बाट सुरु भएको छ। कोरोनाभाइरस जोखिमका कारण यो वर्ष घरैमा बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ।

मुस्लिम संस्कारअनुसार आफ्नो नियमित काम सकेर एक महिनासम्म दिउसो मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ। तर, यो वर्ष घरैमा नमाज पढ्न आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै शुक्रबार आयोग अध्यक्ष अन्सारीले भने, “सामान्यतया एक महीनाभर मस्जिदमा गएर कुरान पढ्नुपर्ने भए पनि कोरोनाभाइरसको रोकथामको लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज पढ्न सबैसँग आग्रह गर्छु।”

महामारी कुनै जात वा धर्मलाई लक्षित गरी नआउने भन्दै उनले सबै नागरिकले अहिले बन्दाबन्दीको नियम पालना गर्नुपर्ने बताए। वीरगन्ज र उदयपुरको जमातीमा संक्रमण बढेपछि मुस्लिम आयोगले आफ्नै संयोजकत्वमा अनुगमन समिति बनाएको उनले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको सहयोगमा बिहिबार र शुक्रबार काठमाडौँका सबै मस्जिदका धर्मगुरुको स्वाब परीक्षण गरिएको उनले बताए। अनुगमन समितिकै पहलमा स्वास्थ्य मन्त्रालयको टोलीले देशभरका मदरसा र मस्जिदमा पनि स्वाब परीक्षण भइरहेको पनि उनले जानकारी दिएको हिमाल खवरमा समाचार छ ।

रमजानमा मुस्लिम धर्मालम्बीहरू एक महीनासम्म दिनभरि निराहार व्रत बसी नमाज पढ्छन्। हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिइ रोजा बस्ने चलन छ। अहिले हिजरी संवत १४४१ हो ।

रमजानको महीनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ। रमजानमा महीनाभर रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।

Facebook Comments Box
TOP