लकडाउनले दूध खपत नभएपछि वालिङका व्यवसायी पनीर र घ्यू उत्पादन लागे

तोलाकान्त बगाले/वालिङ : लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक दूध व्यवसायीले पनीर, नौनीघ्यू उत्पादन गर्दै आएका छन् ।  

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण बजारमा भएका मानिस गाउँघरमा गएकाले उत्पादित दूध पूरै खपत नभएकाले लामो समयसम्म राख्न सकिने गरी पनीर, नौनीघ्यूलगायतका परिकार उत्पादन गर्दै आएको यूवा व्यवसायी पिताम्बर डुम्रेले बताए । युवा व्यवसायी डुम्रेको वालिङ नगरपालिका–१२ मा ‘पनियारे कृषि फार्म’ मार्फत हाल ९५ गाई तथा भैँसीबाट दैनिक २७० लिटर दूध उत्पादन हुने गरेको छ ।
 
“लकडाउन अवधिमा १५० लिटर दूध बिक्री हुँदै आएको छ”, उनले भने, “बजारमा पहिला खपत हुने दूध अहिले लकडाउनका कारण मानिस गाउँगाउँमा गएका कारण दूध खपत नभएकाले लामो समयसम्म रहन सक्ने गरी पनीर, नौनीघ्यूलगायतका परिकार उत्पादन थालेको हुँ ।”

.

यूवा व्यवसायी पिताम्बर डुम्रे

यहाँ उत्पादन भएको दूध, पनीर, नौनीघ्यू वालिङ, गल्याङ तथा बयरघारी बजारमा बिक्री हुने गरेको युवा व्यवसायी डुम्रेले बताए । “फार्ममा उत्पादन भएको दूध पूरै खपत नभएपछि यसै खेर फाल्न पनि भएन”, युवा व्यवसायी डुम्रेले भने, “दूध पूरै खपत नभएपछि बाँकी रहेको दूधबाट केही समयसम्म राख्न सकिने वैकल्पिक परिकार उत्पादन गरेको हुँ, जुन राम्रो बिक्री हुने गरेको छ ।” दूधसँगै पनीर, नौनीघ्यू वालिङ, गल्याङ, बयरघारी, बायटारीलगायतका बजारमा रहेका डेरीमा बिक्रीका लागि राख्ने गरिएकाले उपभोक्ताले डेरीबाट आवश्यक परिकार खरिद गरी लैजाने गरेको उनले बताए । डुम्रेले अहिले दूधका अलावा दैनिक १५ केजी पनीर र तीन केजी नौनीघ्यू उत्पादन गर्दै आउनुभएको छ । पनीर प्रतिकेजी रु ६५० र नौनीघ्यू प्रतिकेजी रु ८०० मा बिक्री हुँदै आएको छ ।
 
लकडाउनका कारण फार्ममा उत्पादित दूध पूरै खपत हुन नसकेपछि चिन्तामा रहेका बेला केही समयसम्म रहनसक्ने परिकार उत्पादन थालेसँगै समस्या समाधान भएको व्यवसायी डुम्रेको भनाइ छ । उत्पादित वस्तुको बिक्री नभई खेर जाने अवस्था आएमा वालिङ नगरपालिकाले खरिद गर्ने बताएसँगै थप ऊर्जा बढेर आएको उनको भनाइ छ । “उत्पादित वस्तु त्यसै खेर जान नदिनुहोला, खेरै जाने अवस्था आउन थालेमा नगरपालिकामा खबर गर्नुहोस् हामीले खरिद गरी बिक्री वितरणको व्यवस्था मिलाउँछौँ”, पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले भनिन्, “अहिले वालिङ नगरभित्रका पशुपालक व्यवसायी उत्साहित हुनुहुन्छ र उत्पादित वस्तुले राम्रो बजार पाएकाले खेर जाने अवस्था आएको छैन ।” वालिङ नगरपालिकाका १४ वडामा २५ पशुपालन फार्म सञ्चालनमा रहेको पशु शाखा प्रमुख श्रेष्ठले बताइन् । 
 
वालिङ नगरपालिकाले पशुपालक व्यवसायीको फार्ममै पुगेर उत्पादित वस्तुको बजारीकरण, पशु आहारा, दानापानी ओसारपसारमा आइपरेका समस्याका बारेमा सहजीकरण गरिएको शाखा प्रमुख श्रेष्ठको भनाइ छ ।

Facebook Comments Box
TOP