नगरपालिकाले आफ्ना कृषि उपज किनिदिए पछि वालिङका कृषक उत्साहित


स्याङ्जा :
कृषकले उत्पादन गरेका कृषि उपज नगरपालिकाले नै खरिद गरिदिए पछि वालिङका कृषकहरु उत्साहित भएकाछन् । देशमा लकडाउन भईरहेको बेला कृषकले उत्पादन गरेका सामाग्रीहरु बजार सम्म पुग्न सकेका थिएनन् जसका कारण कृषकहरु चिन्तित बनेका थिए । वालिङ नगरपालिका वडा नम्वर ६ का कृषक लोक बहादुर गुुरुङले भन्नुभयो, “मैले दुःख गरी लगाएको तरकारी नविक्ने भो भन्दै चिन्ता मानेको थिए तर नगरपालिकाले नै सवै तरकारी खरिद गरिदिए पछि हर्षित भएको छु ।” वडा नम्वर १४ का अर्का कृषक कमलापती डुम्रेको पनि खसीको सिमा छैन । उहाँले भन्नुभयो, “सहज हुँदा त हामी आफै बेचेकै छौ नी, सरकार चाहिने भनेको नै यस्तै समस्या पर्दा हो । वालिङले कृषक प्रति देखाएको सदासयता निक्कै उदाहरणीय छ उहाँले थप्नुभयो ।”
१४ वटै वडाका कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई नगरपालिकाले नै खरिद गरी व्यवस्थापन गरिरहेको छ ।
गाउँ गाउँका उत्पादन बिक्रि नभई कृषक मारमा पर्ने अवस्था आउन नदिन उनीहरुको उत्पादन नगरले नै खरिद गरी व्यवस्थापन गरिरहेका छौं, नगरप्रमुख दिलिप प्रताप खाँणले भन्नुभयो, “कृषकहरुको मनोवल कम नहोस् भनेर हामीले यस्तो गरेका हौं ।” नगरपालिकाले कृषि र पशु शाखाको नेतृत्वमा तरकारी लगायतका वस्तुहरु एकत्रित पार्ने काम गरीरहेको छ जसको लागि दियालो युएनडिपी नेपालले सहजीकरण गरिरहेको छ ।

.


तरकारीहरु राहत सामाग्रीसँगै मजदुर तथा अतिविपन्न परिवारहरुलाई उपलव्ध गराईएको नगरप्रमुख खाँणले बताउनु भयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा कृषकका उत्पादनले बजार नपाउने तर विपन्न र मजदुरको लागि हरियो तरकारी अभाव हुने अवस्था आउन हामी दिदैनौं ।”
नगरपालिकाका कृषकले उत्पादन गरेका सामाग्री लिनका लागि कृषि शाखा प्रमुख केश बहादुर थापा र पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठ सहितको टोली गाउँगाउँमा नै पुगेको छ । कृषि शाखा प्रमुख थापाका अनुशार दुःख पर्दा नगरपालिका छ है भन्ने महशुस कृषकले गरेको अनुभव सुनाउनु भयो । खेतवारीमा नै उत्पादित वस्तु लिन आएको देख्दा कृषकलाई काम गर्ने जोश र जागर बढेको पशु शाखा प्रमुख देव कुमारी श्रेष्ठले बताउनु भयो ।

.


वडा तहमा कार्यरत दियालो युएनडिपी नेपालका कृषि प्राविधिक स्वयंसेवकहरुले कृषि उपजको व्यवस्थापनका लागि सहजीकरण गरिरहेकाछन् । गाउँगाउँमा रहेका कृषकले उत्पादन गरेका सामाग्रीहरुको व्यवस्थापनका लागि सहजीकरण गरिरहेको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यस्तो अवस्थामा पनि कृषकले उत्पादन गरेका वस्तुहरु नगरपालिकाले जिम्मा लिएर व्यवस्थापन गरिदिनु निक्कै सह्रानिय छ ।”
वालिङ नगरपालिका र युएडिपी नेपालको सहकार्यमा “सीप तालिम कृषि तथा उद्यम विकासद्धारा आर्थिक सशक्तिकरण” परियोजना दियालो संस्थाद्धारा सञ्चालित रहेको छ जसका कारण पछिल्लो समय वालिङमा कृषि तथा पशुजन्य उत्पादन बढ्दो क्रममा रहेको छ ।

.

Facebook Comments Box
TOP