राजमार्गमा हिड्ने मजदूरलाई स्याङ्जाका ठाउँठाउँमा खाना र खाजाको व्यवस्था

आँधीखोला खबर/स्याङ्जा :
लकडाउन लामो समय रहने अवस्थाका कारण पैदलै आफ्नो गन्तव्यतर्फ हिँडेका मजदूर तथा बटुवालाई स्याङ्जाका ठाउँठाउँमा खाना र खाजाको व्यवस्था गरिएको छ । पोखरा लगायतका ठाउँबाट आएका मजदुरहरु स्याङ्जाको बाटो हुँदै पश्चिम तर्फ जानेक्रम जारी नै रहेको छ । उनीहरु भोकै पैदल हिडिरहेको जानकारी आए पछि जिल्लाका बिभिन्न ठाउँमा खाना र खाजाको व्यवस्था गरिएको हो ।
स्याङ्जामा राजमार्गमा पर्ने पालिकाहरु,रेडक्रस, डुम्रे बन्धु समाज नेपाल लगायतले खाना र खाजाको व्यवस्था गरेकाहुन् ।
शुक्रवार राती वालिङ आईपुगेको मजदुरहरुको टोलीलाई वालिङ नगरपालिकाले खाना र वासको व्यवस्था गरेको थियो । यो भन्दा अगाडि पनि पैदलै हिडिरहेका मजदुरहरुलाई खाना खुवाउने, राती आएकालाई वास बसाल्ने, केही पर सम्म भए पनि गाडीमा पुर्याईदिने काम गर्दै आएको नगरपालिकाले जनाएको छ । मानवीय नाताले नगरपालिकाले मजदुरहरुलाई निरन्तर सहयोग गर्दै आएको नगर प्रमुख दिलिप प्रताप खाँणले बताउनु भयो ।
त्यस्तै फेदिखोला गाउँपालिकाले पनि पैदलै यात्रा गरिरहेका मजदुरहरुलाई खाना खुवाउने क्रम चलाईरहेको छ ।
संस्थागत रुपमा डुम्रे वन्धु समाज नेपाल र रेडक्रसकाे राम्रो काम :
संस्थागत रुपमा डुम्रे वन्धु समाज नेपाल र रेडक्रसले राम्रो कामको शुरुवाद गरेकाछन् । डुम्रे वन्धु समाजले खाना र खाजाको स्टल नै राखेर सहयोग गरिरहेको छ । जसको लागि वालिङ वालिङ नगरपालिकाले समेत सहजीकरण गरेको छ । वालिङको जैसीपधेरामा खाजा र पानीको लागि स्टल राखिएको छ भने गुराँस फुड क्याफे एण्ड सेकुवा कर्नरमा खानाको व्यवस्था गरिएको डुम्रे बन्धु समाजका अध्यक्ष शिवलाल डुम्रेले जानकारी दिनभयो । उहाँले भन्नुभयो, ‘लामो यात्रा गरेर भाेकै आएका पैदल यात्री तथा वटुवालाई लक्षित गरी खाना र खाजाको स्टल शुरु गरेका हौं ।’
रेडक्रस स्याङ्जा शाखाले सदरमुकाममा खाना र खाजाको व्यवस्था गरेको रेडक्रसका मन्त्री दिनेश अर्यालले जानारी दिनुभयो । उता फेदिखोला गाउँपालिकाले पनि मजदुरहरुलाई खाना र वासको व्यवस्था गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले भन्नुभयो, ‘हामीले पैदलयात्री मजदुरहरुलाई खाना र वासको व्यवस्था मिलाएका छौं ।’

.

Facebook Comments Box
TOP