लकडाउन असर : दैनिक १० लाख बढीको व्यापार घाटा व्यहोर्दै स्याङ्जाकाे एग्रोफर्म

भवानी अधिकारी/स्याङ्जा : भीरकोट नगरपालिका ६ ठाडाखेतमा स्थापित खिलुङकालिका एग्रो फार्ममा उत्पादित अण्डाले बजार पाएको छैन । लकडाउनका कारण अण्डाले बजार नपाउँदा दैनिक १० देखि १२ लाखसम्मको व्यापार घाटा व्यहोर्दै आएको फर्म संचालकको भनाई छ । 

जिल्लामै पहिलो र गण्डकी प्रदेशकै ठूलो र नमूना अण्डा उत्पादक एग्रोफर्मबाट उत्पादित अण्डाले बजार नपाउँदा संचालक मारमा परेका हुन्। कोरोना भाइरस संक्रमण देखाउँदै सरकारले लकडाउनलाई कडाइ गरेपछि यहाँ कार्यरत एक सयभन्दा बढी कर्मचारी पनि प्रभावित छन् । ‘एकतर्फ कर्मचारीले काम पाएका छैनन्, अर्कोतर्फ अण्डाले बजार पाएन। पसल बन्दै छन्, ‘फर्म संचालक गंगाराम अर्यालले भने, ‘महामारी कोराना भाइरसविरुद्ध लड्ने बेलामा पोषणका लागि अत्यावश्यक अण्डा, मासु खान नपाउँदा पौष्टिक अभाव हुनसक्छ।’
  
यहाँ उत्पादित अण्डा गण्डकी प्रदेश अन्र्तगत सबैभन्दा बढी कास्की बागङ, स्याङजा, तनहुँ, पाल्पा र पर्वत प्रमुख बजारमा पाठाइन्छ। अण्डाको माग भएपनि पुर्‍याउन नसकेको फार्मले जनाएको छ ।

भिरकोटमा खिलुङकालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाममा स्थापना गरिएको मुलुककै अत्याधुनिक प्रविधिजडित ‘लेयर्स कुखुरा फर्म’  हो । जर्मनीको अत्याधुनिक प्रविधि ‘व्याट्री केज’ प्रणालीबाट संचालित सो फार्म २ लाख लेयर्स कुखुरा क्षमताको छ । २०७१ सालमा झण्डै ४० रोपनी क्षेत्रफलमा निर्मित फर्मबाट दैनिक डेढ लाख अण्डा उत्पादन हुन्छ । 
अहिले पनि फर्ममा २ लाख कुखुरा पालिएका छन् । सुविधा सम्पन्न ४ वटा ठूल्ठूला भवनमा कुखुरा पालिएका छन् । एउटा भवन ५० हजार वटा चल्ला हुर्काउनका लागि प्रयोग हुन्छ । अन्य ३ वटा भवन अण्डा उत्पादन गर्ने कुखुराका लागि बनाइएका हुन् । फर्ममा दैनिक ५ टनसम्म सुली पनि उत्पादन हुने गर्छ । 

बन्द घरभित्र रहेका ती चल्लाले ४ महिनामा अण्डा दिन्छन् । फर्ममा दैनिक १ लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको छ । ‘वातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकता अनुरुपका दाना, पानीलगायत अन्य आवश्यक खाद्य बस्तु मेसिनद्धारा उपलब्ध गराइन्छ भने मेसिनद्धारा अण्डा पनि एकिकृत हुनेगरी व्यवस्था मिलाइएको,’ प्रबन्ध निर्देशक शोभाकान्त ढकालले जानकारी दिए ।

जर्मनीको अत्याधुनिक प्रविधि व्याट्रिकेज प्रणालीद्वारा संचालित फार्मले लक्ष्य अनुरुपको अण्डा उत्पादन गर्दै आएको छ । पूर्ण स्वचालित ब्याट्रिकेज प्रणालीद्धारा संचालित मुलुककै पहिलो एग्रो फार्मबाट अण्डा उत्पादन गरिँदै आएको हो । 

६ हजार २ सय ४० केजमा रहेका ५० हजार कुखुराका अण्डा एउटै स्थानमा जम्मा हुने गर्दछ । एउटा केजमा ८ वटा कुखुरा मात्र राखिन्छ । १५ महिनासम्म नियमित अण्डा दिने र त्यसपछि मासुका लागि पनि बिक्री गर्न सकिने लेयर्स कुखुरा तत्कालिन समयमा पश्चिमाञ्चल विकास क्षेत्रका सबै बजारसम्म आफ्ना उत्पादन पुर्‍याउने गरिन्छ।

भीरकोटका ७ जना स्थानीबासीद्धारा संचालित सो एग्रोफाम झण्डै सवा अरबभन्दा बढीको लगानी छ  । फर्ममा चिकित्सकदेखि वातावरणीय विज्ञहरुले दैनिक रेखदेख र चेकजाँच गर्छन् । 
 

Facebook Comments Box
TOP