निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल, निर्वाचन आयोगमा दर्ता भएको छ ।

बिहीबार बिहान सवा ११ बजे निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

दल दर्ताका लागि दुबै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले आयोगका अधिकारीहरुलाई पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

नव एकीकृत पार्टी जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

सरकारले दल विभाजन गर्न रातारात अध्यादेश ल्याएपछि समाजवादी र राजपाबीच बुधबार राति नै पार्टी एकता भएको थियो ।

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ भने झण्डा समाजवादीको र चुनाव चिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।

Facebook Comments Box
TOP