ग्रहौं प्राथमिक अस्पतालमा आरडिटी किटद्वारा कोरोना परीक्षण शुरु

वालिङ :यहाँको ग्रहौं प्राथमिक अस्पतालमा आईतबारबाट आरडिटी (¥यापिड डायग्नोष्टिक टेष्ट) किटबाट कोरोना परीक्षण शुरु गरिएको छ ।

उच्च जोखिममा रहेका देशहरुबाट आउने ब्यक्तिहरु तथा उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका अन्य सदस्यहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा परीक्षण गरिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

आईतबार एक भारतीय नागरिक र एक नेपाली नागरिक गरी दुई पुरुषको आरडिटी किटबाट परीक्षण गरिएकोमा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“वालिङ नगरपालिकालाई हालसम्म गण्डकी प्रदेश सरकारबाट एकसय २० वटा किट प्राप्त भएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यो किटबाट छोटो अवधिमै नतिजा पत्ता लगाउन सकिने भएकाले आवश्यकता अनुसार थप किटका लागि पहल भईरहेको छ ।”

स्थानीय अस्पतालका प्राविधिकहरुबाट परीक्षण गरिने भएकाले पनि सहज र छिटो नतिजा प्राप्त हुने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

उच्च जोखिममा रहेका ब्यक्ति वा उनीहरुको परिवारको किटका माध्यमबाट पोजेटिभ नतिजा देखिएमा क्वारेन्टाईनमा राखी पुनः पिसिआर प्रविधिबाट यकिन गर्न थप परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाईने ग्रहौं प्राथमिक अस्पतालका प्रमुख डा. पवन अर्यालले बताउनुभयो ।

Facebook Comments Box
TOP