स्याङ्जामा लकडाउन प्रभाव : सहरमा सुनसान, गाउँमा चहलपहल

भवानी अधिकारी/स्याङ्जा : लकडाउन भन्दै सहर बजार सुनसान भएपनि गाउँघरतिर भने चहलपहल सुरु भएको छ। गाउँले जीवनलाई भने लकडाउनले छुन सकेको छैन।नियमित दाउरा, घाँस, मेलापात र किसानी जिन्दगीलाई भने लकडाउनले कुनै असर गरेको छैन।

बिहान उठेदेखि साँझसम्मको समय काममै बित्ने गर्छ। घरभित्र बसेर खान पाउने स्थिति नभएपछि रोगभन्दा पनि भोगको चिन्ताले गाउँले नियमित काममा खटिएका हुन्। गाउँघरमा अहिले मकै गोड्ने, गहुँ काट्ने, मौसमी तथा बेमौसमी तरकारी लगाउने चटारो छ।खेतबारीमा हरिया मकै बढेका छन् । खेतबारीमा लगाएका काँक्रो, घिरौंला, सिमी, बोडी, गोलभेडा लहलह झुलेका छन् । तिनीहरुलाई गोलमेल गर्ने, थाक्राथुक्री राख्ने समय हो यो।

वर्षभरीको खाने अनाजको गोडमेल र सिंचित नगरे राम्रो उब्जनी हुँदैन । यसैले लकडाउन भन्दै घरमा बसेर सम्भवै नहुने बताउँछन् भीरकोटका तारा अर्याल ।  कोराना भाईरस (कोभिड १९) को संक्रमण नफैलियोस भनेर सरकारले देशभर लकडाउनको घोषणा गरेको पनि गाउँघरतिर भने लकडाउनको प्रभाव देखिएको छैन । नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको सरकारको लकडाउन घोषणाको अवज्ञा गर्दै भित्री क्षेत्रमा खुल्ला रुपमा हिडँडुल र खेतबारीमा काम गर्नेको लर्को नै छ ।  

लकडाउन सुरु भएको ३७ दिन पुगेको छ । यस अवधिभित्रै चैते धान रोप्ने, मकैका लागि मल बोक्ने, खेत जोत्ने, मकै छर्ने देखि गोलमेडलका काम जति सबै सकेका छन किसानले । गहुँ, दलहन लगायतका खाद्यान्न बाली समेत भित्र्याउने काम भइरहेका छन्।  

सुन्तलाको उर्वरभूमि हो स्याङजा । त्यसैले अहिले सुन्तला गोड्ने, नयाँ बिरुवा रोप्नका लागि खाडल खन्ने काम भइरहेको छ। सुन्तलाका किसान यही काममा व्यस्त छन्। व्यवसायिकरुपमा मौसमी तथा बेमौसमी तरकारी लगाउन उनीहरु तल्लिन छन्।

ठूल्ठूला दूध उत्पादक फर्मले पनि आफ्नो काम रोकेका छैनन् । सुन्तला व्यवसायी मुक्ति अधिकारीले भने, ‘सामाजिक दूरी कायम गर्दै गोडमेल र खाडल खन्ने काम मै छु।’ लकडाउनको प्रभाव सहर बजारमा मात्र देखिएको छ । तोकिएको समयमा मात्र पसल खुल्ने गरेका छन् । विभिन्न बहानामा सहर गएका पनि कोरोना भाइरसका कारण अहिले गाउँ फर्किएका छन् ।

कोरोना रोग र लकडाउनबारे गाउँघरमा जानकारी नभएर भने पक्‍कै होइन । थाहा हुँदाहुँदै पनि वाध्यताले उनीहरु लकडाउनको पालना गर्न नसकेको पुतलीबजार नगरपालिकाका शोभा केसी ।उनले भनिन्,’ गाउँलेहरु नियमित घरखेतमा काम गरिरहेका छन् ।’


लकडाउनमा सुनसान बनेको  स्याङजा सदरमुकाम ।

Facebook Comments Box
TOP