भीरकोट र गल्याङमा पहिलो चरणको राहत वितरण सकियो ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाका गल्याङ र भीरकोट नगरपालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न गरेकाछन् । दुवै पालिकाहरुले अति आवश्यक्ताका आधारमा राहत वितरण सम्पन्न गरेको जनाएकाछन् ।
गल्याङका ११ वटै वडामा पहिलो चरणमा १५ दिनका लागि राहत वितरणको काम सकिएको हो । गल्याङ नगरपालिकाका विभिन्न वडाहरुमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलको साथै एक लिटर तेल, एक किलो दाल, एक किलो नुन र एउटा हात धुने साबुन वितरण गरिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउन गरिएको लकडाउनका कारण समस्यामा परेका अति विपन्न, दैनिक ज्यालादारी, सिमान्तकृत गरिब र असहायहरुलाई राहत वितरण गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
वडा कार्यलयमा राहत माग गरिएकाहरुको आधारमा वडा समितिले सिफारिस गरे अनुसार नगरपालिकाबाट राहत वितरण भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
केही वडाहरुमा पीडितहरु छुटेको तथ्याङ्क आएपछि नगरपालिकाले केही वडाहरुमा फेरी राहत सामाग्री पठाउने तयारी गरेको छ ।
यता भीरकोट नगरपालिकाले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको छ । लकडाउनका बेला ज्यालादारी तथा मजदुरी गर्नबाट वञ्चित अति विपन्न परिवारलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ । ९ वडा रहेको नगरपालिकाभित्रका टोल विकास संस्थाहरुले तथ्यांक उपलब्ध गराएसंगै नगरपालिकाले राहत वितरण गरेकोे हो । नगरपालिकाभित्र रहेका ८२३ अति विपन्न घरपरिवारलाई राहत वितरण गरिएको नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
राहत प्याकेज अन्र्तगत २ जना सम्मको परिवारलाई ५ केजी चालम, दाल, तेल, नुन र सावुन वितरण गरिएको छ भने २ भन्दा माथिको परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, आधा केजी तेल र साबुन वितरण गरिएको हो ।
भीरकोटका ८२३ परिवार तथा ३५ सय जनाको लागी राहत वितरण गरेको जनाएको छ । त्यस्तै पालिकामा रहेका निर्माण कार्यमा आवद्ध बाहिरी जिल्लाका मजदुरहरुलाई समेत राहत वितरण गरिएको छ ।
नगरप्रमुख छायाराम खनालले दैनिक ज्यालादारी तथा अति विपन्न परिवारलाई पालिकाले राहत वितरण गरेको भन्दै बाँकी कोहि छुटेमा पुन राहत वितरण गरिने बताउनुभयो ।

Facebook Comments Box
TOP