पत्रकार महासंघका उपाध्यक्ष काफ्लेद्धारा राहत कोषमा रकम सहयोग

अर्जुनचौपारी : कोरोना भाईरसका कारण देश अहिले लकडाउन (बन्दाबन्दी) मा छ । लकडाउनका कारण कयौँले रोजीरोटी गुमाएका छन् । दैनिक ज्यालादारी श्रमिकहरु आफ्नो श्रम दिनबाट गुमेका छन् । घरमै बस्नुपरेको छ । सरकारले यस्ता दैनिक ज्यालादारी श्रमिकहरुलाई केन्द्रित गर्दै राहत वितरण गरिरहेको छ । राहतका लागी केन्द्रदेखि स्थानीय तहसम्म राहत कोषमार्फत सहयोग संकलन भईरहेको छ । त्यस्तै पत्रकार समेत कोरोनाको अपडेटका लागी फिल्डमा खटिरहेका छन् । फ्रन्टलाईनमा खटेर समाचार संप्रेषण तथा प्रकाशन गरिरहेका छन् । यस्तो परिस्थितिमा फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंगै पत्रकारहरुलाई समेत उचित राहतको व्यवस्था गर्नुपर्ने भनिरहँदा यहाँका एक पत्रकारले भने राहतका लागी रकम हस्तान्तरण गरेका छन् ।

पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्लेले राहत कोषका लागी १० हजार प्रदान गर्नुभएको छ । अर्जुनचौपारी ३ रापाकोटका काफ्लेले पालिकामा स्थापित आकस्मिक कोषमा १० हजार सहयोग गर्नुभएको हो । गोरखापत्रका स्याङ्जा संवादाता समेत रहनुभएका काफ्लेले भन्नुभयो, ‘पत्रकारको पेशा जनतालाई सुसूचित पार्ने हो तर यो बेला लिने भन्दा दिने समय हो ।’ देशमा संकट परेका बेला लिनु भन्दा दिनु नै सचेत नागरिकको परिचय भएको भन्दै पत्रकार काफ्लेले आफ्नो खर्च कटौती गर्दै लकडाउन प्रभावितहरुका लागी सानो सहयोगको कदम बढाएको बताउनुभयो । पत्रकार काफ्लेले पालिका अध्यक्ष दिर्घनारायण अर्याल र उपाध्यक्ष चिनमाया गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । पालिकाले कोरोनाको रोकथाम, नियन्त्रण तथा लकडाउनका कारण समस्यामा परेका स्थानीयलाई राहत वितरण गर्ने उद्देश्यले आकस्मिक कोष स्थापना गरेको छ । पालिकाले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको छ ।

Facebook Comments Box
TOP