फेदीखोला गाउँपालिकाले कोरोनाभाइरसबारे सचेतना फैलाउने

फेदीखोला :
विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसबारे सचेतना जगाउन स्याङ्जाको फेदीखोला गाउँपालिकाले विभिन्न जानकारीमुलक कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाका पाँचै वटा वडामा रहेका स्वास्थ्यचौकी तथा विद्यालयहरुबाट अभियान सञ्चालन गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न सोमबार गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको शाखा प्रमुख खिलप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रम अन्र्तगत मंगलबारबाट नो ह्यान्डसेक(हात नमिलाउने अभियान), हरेक विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम गरिनेछ । त्यसैगरि पाँचैवटा वडाका ४ वटा स्वास्थ्यचौकी र २ वटा सामुदायिक स्वास्थ्य एकाईमा पनि यसको सङ्क्रमण र बच्ने उपायबारे जानकारी दिइनेछ । गाउँपालिकामा कार्यरत २६ जना स्वास्थ्यकर्मी र ३६ जना स्वयमसेविकाले प्रचारप्रसारमा खटिनेछन् । ठाउँठाउँमा पोष्टर, ब्यानर तथा डिजिटल बोर्डबाट जानकारी दिइने तथा महिला स्वास्थ्य स्वयमसेविकाद्वारा गाउँगाउँमा सचेतना फैलाउने स्वास्थ्य शाखाले जानकारी दिएको छ । १००.४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभीड–१९ भनिने यो भाइरस खोक्दा र हाछयँु गर्दा निस्कने थुकबाट एवं संक्रमित मानिसले छुँदा पनि सर्छ । नोबल कोरोना भाइरस नयाँ किसिमको भाइरस भएको र हालसम्म खोप र उपचारविधिमा प्रगति हुन नसकेकाले सरसफाइ अपनाउन तथा संक्रमण फैलिनबाट बच्न स्वास्थ्य शाखाले अपिल गरेको छ ।
नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्यँु गर्दा नाक र मुख छोप्ने एवं रुघा खोकीकोजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, त्यस्तो लक्षण हुने व्यक्तिको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरपालुवा पशुपंछीसँग टाढा रहने, पशुजन्य मासु र अण्डा राम्रोसँग पकाएर खाने, सार्वजनिक स्थानमा जादा मास्क लगाउने आदि जस्ता सावधानी अपनाउनुपर्छ ।

Facebook Comments Box
TOP