नेपाल टेलिकमले रिचार्ज बराबर बोनस ब्यालेन्स दिने,एनसेललको रिचार्जमा ५० प्रतिशत बोनस

काठमाडौं : नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो ।

यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ । अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।

टेलिकमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्जजत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने निर्णय गरेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार यस्तो बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।

यसैबीच ग्राहकका लागि एनसेल सापटी रकममा बृद्धिसँगै, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ ।

ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ ।

Facebook Comments Box
TOP