गल्याङमा मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु

गल्याङ् : स्याङ्जाको गल्याङ नगरपालिकामा मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गल्याङ नगर खेलकुद समितिको आयोजनामा अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु भएको हो ।
गल्याङ नगर खेल मैदानमा भएको उद्घाटन समारोहमा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले खेलकुदकै माध्यमबाट राष्ट्रलाई एकताबद्ध बनाउन सकिने बताउनुभयो ।
उहाँले गाउँगाउँमा लुकेर रहेका खेलाडीलाई उजागर गर्नका लागि यस्तो प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो ।
फरक प्रसंगमा नगरप्रमुख अधिकारीले अहिले कोरोला भाइरलको समस्या विश्वभर देखिएको भन्दै यसबाट जोगिन उपयुक्त पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमणबाट जोगिनका लागि ठूला सभा सम्मेलनहरु, महोत्सवहरु स्थगित गर्ने केन्द्रीय सरकारको नीति अनुसार गल्याङमा पनि त्यस्ता कार्यक्रमहरु स्थगित गर्ने जानकारी दिनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो —“स्थानीय जनताको स्वास्थ्यप्रति सचेत रहँदै भेला, महोत्सव तथा सम्मेलनहरु केही समय स्थगित गरेका छौं ।”
उहाँले मेयर कप अन्तरगत अहिले पुरुष भलिबल प्रतियोगिता मात्रै गरिएको र आगामी वर्षहरुमा अन्य खेलहरु पनि समाबेश गरिने बताउनुभयो ।
युवाहरु खेलसँगै उत्पादनमा जोडिनुपर्ने भन्दै उहाँले आगामी दिनमा उत्पादनमूलक काममा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख तथा गल्याङ नगर खेलकुद समितिका संयोजक देवीसरा थापाले नगरपालिकाले स्थानीयको आवश्यकता अनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले खेलमा हारजित हुने भन्दै मर्यादित ढंगले खेलमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यले नगर खेलकुद समितिको आयोजनामा भैरहेको प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नगरपालिका जनसम्पर्क शाखाका प्रमुख दलबहादुर सिंजालीले गर्नुभएको थियो ।
प्रतियोगितामा गल्याङ नगरपालिकाका ११ वटा वडाका ११ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता २४ गतेसम्म सञ्चाललन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोश्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार र सान्त्वना हुनेलाई २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।
यसैवीच, प्रतियोगिता अन्तर्गत आज तीन वटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर एकलाई पराजित गरेको छ । यस्तै दोश्रो खेलमा वडा नम्बर नौ ले वडा नम्बर दशलाई र तेस्रो खेलमा वडा नम्बर दुई ले वडा नम्बर पाँचलाई पराजित गरेको छ ।
तीन सेटमा भएको खेलका सबै खेलमा दुई शुन्य सेटमा सकिएको थियो ।
प्रतियोगितामा विहीबार नौ बजे देखि अन्य खेलहरु सञ्चालन हुनेछन् ।

Facebook Comments Box
TOP