आजबाट देशै ‘लकडाउन’
काठमाडौं । कोरोना संक्रमण (कोभिड १९) पोजेटिभ बिरामी फेला परेलगत्तै सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि पूरै देश ‘लकडाउन’ गरेको छ ।
फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबारको बैठकले पूरै देश ‘लक डाउन’ गर्ने निर्णय लिएको हो । यो निर्णयसँगै अत्यावश्यक क्षेत्रसँग जोडिएका व्यक्तिबाहेकका सर्वसाधारण नागरिक १८ चैतसम्म घर बाहिर निस्कन पाउनेछैनन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १८ चैतसम्मका लागि सरकारले थप सतर्क रहन भन्दै आमसर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताए । ‘सबै आमनागरिक सकेसम्म सतर्क रहनु नै आजको आवश्यकता हो । सरकारले १८ गतेसम्मका लागि सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै थप निर्णय लिएको हो,’ मन्त्री भट्टराईले राजधानीसँग भने ।
यस अवधिमा सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रलगायत खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने तथा सञ्चारमाध्यमसँग सम्बन्धित सवारीसाधन भने चल्न पाउनेछन् । अन्य निजी तथा सार्वजनिक सबै सवारीसाधनलाई भने चल्न रोक लगाइएको छ । यस्तै, आन्तरिक उडानसमेत बन्द रहनेछन् ।
यसैगरी, अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने निर्णय सरकारले गरेको छ । ‘लक डाउन’को अवधिमा अत्यावश्यक वस्तु औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता काममा भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउनेछन् ।
सरकारले गरेको निर्णय उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै, संक्राण रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ । सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिमाना वा दुवैको व्यवस्था छ ।राजधानी दैनिकबाट
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…