गल्याङ समाज यूएईको सहयोगमा बिद्यार्थीलाई झोला वितरण

आँधीखोला खबर/गल्याङ :
गल्याङ समाज यूएईको सहयोगमा गल्याङ ८ चण्डिथान स्थित चण्डिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।
ग्रामीण क्षेत्रका विद्यार्थीले पढ्न नपाएका कारण भविष्यमा खाडीमूलूक तर्फ जान नपरोस भन्दै विद्यार्थीहरुका लागि सहयोग शुरु गरिएको समाजका सल्लाहकार गोविन्द प्रसाद भट्टराईले बताउनु भयो ।
उहाँले भन्नु भयो हामीले ५० डिग्रीको तातो घाममा काम गरेर पाएको पारिश्रमिकबाट केही अंश बचाएर बिद्यार्थीहरुलाई सहयोग गरेका हौं । उहाँले गरिब जेहेन्दार, असहाय,मृगौला पीडित,अग्नीपिडीत, अपाङ्ग, रोजगारीको शिलशिलामा दुःख पाएका तथा विचल्लीमा परेकाहरुलाई समाजले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।


सल्लाहकार भट्टराईले राम्रो र प्रभावकारी शिक्षा दिन शिक्षकहरुलाई पनि आग्रह गर्नुभयो । अधिकांश दलित समुदायका बिद्यार्थीहरु अध्ययन गर्ने उक्त बिद्यालयका बिद्यार्थीहरुलाई आगामी दिनमा अरु थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगर समाज यूएईका उपाध्यक्ष गोपाल प्रसाद भट्टराईले आफूहरुले श्रमको केही अंश लगानी गरेको भन्दै यस्ता ठाँउमा सरकारलाई ध्यान दिन अनुरोध समेत गर्नुभयो । उहाँले समाजका हरेक अभाव र समस्यामा हामीले सानो —सानो भए पनि सहयोग गर्ने गरेको र भोलिका दिनमा पनि यस्ता सहयोग निरन्तर गर्ने बताउनु भयो ।
कार्यक्रममा समाजसेवी सूर्य प्रसाद भट्टराई, राजेन्द्र भट्टराई, छबिलाल गाहा मगर, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण वि.क, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य टिकामाया गाहा मगर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले ग्रामीण क्षेत्रमा रहेको त्यसमा पनि दलित र जनजातीका बालवालिकाले पढ्ने विद्यालयमा शिक्षक दरवन्दी अभाव भएकाले सोचेअनुसारको शिक्षण क्रियाकलाप सञ्चालनमा समस्या परेको गुनाशो गर्नुभयो । उहाँले सबैको साथ र सहयोग भएमा विद्यालयको शैक्षिक व्यवस्थापनमा सहजता मिल्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कक्षा शिशु देखि कक्षा ५ सम्म अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षिका सरिता सुबेदीले र सञ्चालन शिक्षक टिकाराम अधिकारीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP