गल्याङमा इमर्जेन्सी रेस्पोन्स टिम गठन,शंका लागेका दुइ जना विदेशी नागरिक पोखरा रिफर

गल्याङ : कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम नियन्त्रण गर्नका लागि गल्याङमा इमर्जेन्सी रेस्पोन्स टिम गठन भएको छ ।

गल्याङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज बसेको बैठकले कोरोना भाइरसको संक्रमण भित्रिएमा तत्काल नियन्त्रणको लागि इमर्जेन्सी रेस्पोन्स टिम गठन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेको कार्यकक्षमा गल्याङबजारका क्लिनिक तथा औषधी व्यवसायी सहितको बैठकले अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पनि बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै, आवश्यकता अनुसार निजी संस्थाका स्वास्थ्यकर्मी परिचालन हुने र निजी स्वास्थ्य संस्थामा रहेका औसधी तथा औसधीजन्य सामाग्री समेत आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय पनि भएको छ ।

यसैगरी, नगरपालिका भित्रका सबै स्वास्थ्यकर्मीले सुरक्षाका लागि गाउनको प्रयोग गर्ने तथा कोही शंकास्पद विरामी देखिएमा नगर अस्पतालमा रिफर गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले नगरपालिका भित्रका सबै एम्बुलेन्सहरुलाई गल्याङ नगर अस्पतालमा केन्द्रीत गर्ने र आवश्यकता अनुसार परिचालन गर्ने निर्णय पनि गरेको स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।

कोरोनाकै कहर :

कोरोना भाइरसको संक्रमणको पूर्व तयारी स्वरुप स्याङ्जाको गल्याङ नगरपालिका ३, वल्पुकमा आइसोलेशन कक्ष तयार भएको छ ।

गल्याङ नगर अस्पतालसँगै रहेको मिलन प्राविको भवनमा आठ शैया रहेको आइसोलेशन वार्ड स्थापना भएको हो ।

दुइ दिनको तयारीमा आइसोलेशन कक्ष तयार भएको गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले जानकारी दिनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले यो आइसोलेशन कक्षमा संक्रमणको शंका लागेका विरामीहरुलाई राखिने जानकारी दिनुभयो ।

वडाहरुमा तयार भएका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई ज्वरो वा अन्य कुनै संक्रमणको लक्षण देखिएमा आइसोलेशनमा राखिने उहाँले स्पष्ट पार्नुभयो ।

आइसोलेशन कक्षमा चार वटा कोठा रहेका छन् भने प्रत्येक कोठामा दुइ वटा शैया तयार पारिएको छ ।

एउटा कोठा भने तयारी र व्यवस्थापनका लागि तयार पारिएको छ ।

आइसोलेशन कक्षमा शौचालय, खाने पानी, न्यूनतम सामाग्रीहरु सहित सम्पूर्ण सामानहरु राखिएको छ ।

वडाको तयारी :

स्याङ्जाको गल्याङ नगरपालिकाका ११ वटै वडाहरु क्वारेन्टाइन निर्माणलाई तिब्रता दिइएको छ ।

विशेष गरी अन्य देशबाट भित्रिएका व्यक्तिहरुको निगरानी गर्नका लागि वडाहरुमा क्वारेन्टाइन कक्ष निर्माण गरिएको हो ।

कतिपय ठाउँमा घरमा नै क्वारेन्टाइनको व्यवस्था अनुसार व्यक्तिको निगरानी गरिएको छ भने कतिपय वडाहरुमा स्कुलमा क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ ।

यस्तै, विदेशबाट आउने व्यक्तिहरुको लगत लिन थालिएको छ ।

वडा नम्बर एकमा दुइ जना भारतबाट वडामा आएको पाइएको र उनीहरुलाई घरमा नै कडा निगरानीमा राखिएको वडाध्यक्ष गणेश बस्यालले जानकारी दिनुभयो । विदेशबाट आउने अन्य व्यक्तिको खोजीमा आफुहरु लागिपरेको उहाँले बताउनुभयो ।

यस्तै, वडा नम्बर दुईमा छ वटा क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । वडाध्यक्ष इवप्रसाद कर्माचार्यले शिवालय मावि गुठीमा व्यवस्थित छ शैयाको क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिनुभयो । यस्तै, क्वारेन्टाइन कक्ष थप्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।

आफ्नो वडामा भारतको कलकत्ताबाट दुइ जना, र दुुबइ बाट एक जना बटुवामा आएको र उहाँहरु घरमा नै क्वारेन्टानमा रहेको कर्माचार्यले बताउनुभयो ।

यस्तै, अन्य तिन जना पनि आएको भन्ने सुनेकाले आफु त्यसको खोजीमा हिँडेको उहाँले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर तीनमा विदेशबाट आउनेहरुका लागि सम्झाएर घरमा नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको वडाध्यक्ष महेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले वडामा अहिले सम्म तीन जना विदेशबाट आएका नागरिक भेटिएको अन्यको खोजि भैरहेको बताउनुभयो ।

यसैगरी वडा नम्बर चारमा पनि घरमै क्वारेन्टाइन निर्माण गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो ।

अन्य वडाहरुमा पनि क्वारेन्टाइनका लागि आवश्यक काम भैरहेको सम्बन्धित वडाध्यक्षहरुले जानकारी दिनुभएको छ । यस्तै वडा नम्बर ९ मा पाँच जना भारतबाट आएकालाई घरमा नै क्वारेन्टानमा राखिएको वडाअध्यक्ष हरिलाल खनालले जानकारी दिनुुभयो ।

यस्तै वडा नम्बर ९ मा पाँच जना भारतबाट आएकालाई घरमा नै क्वारेन्टानमा राखिएको वडाअध्यक्ष हरिलाल खनालले जानकारी दिनुुभयो ।

त्यस्तै वडा नम्बर ८ मा भारतबाट आएका तीन र कुुवेतबाट २ गरि ५ जना आएकोमा उनीहरुलाई क्वारेन्टाइनमा बस्न लगाईएको वडाअध्यक्ष भेकप्रसाद श्रेष्ठले जानकारी गराउनुुभयो ।

पोखरा रिफर :

राम्दीमा चेकजाँचको क्रममा शंका लागेका दुइ जना विदेशी नागरिकलाई पोखरा पठाइएको छ ।

वडा नम्बर एकका अध्यक्ष तथा गल्याङ नगरपालिकाका प्रबक्ता गणेश बस्यालले दुइ जना शंकास्पद व्यक्तिलाई एम्बुलेन्समा राखी पोखरा पठाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरु भारतको बाटो हुँदै राम्दी सम्म आएका थिए ।

उहाँले एक जना इटाली र अर्को एक जना जर्मन नागरिकलाई पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो ।

उनीहरुको स्वास्थ्य परिक्षण लगायत सबै प्रक्रिया पोखरामा नै हुने भएको छ ।

Facebook Comments Box
TOP