कोरोना जोखिम पूर्वतयारीमा जुट्यो चापाकोट नगरपालिका

बिश्व भट्टराई/चापाकोट :
चापाकोट नगरपालिकाले विश्वव्यापीरुपमा फैलदै गएको कोरोना भाइरसबाट बच्च उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । सोमवार चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरिको अध्यक्षतामा नोबेल कोरोना भाइरस सम्बन्धि नगरस्तरीय अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

भाइरसबाट बच्च आम नागरिकमा जनचेतना अभिबृद्धि गर्न नगरपालिकाको स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, महिला स्वयम् सेविका र प्रहरी साझेदारी कार्यक्रम मार्फत संयुक्त रुपमा जनचेतनामूलक कार्यक्रम गरी प्रचारप्रसार गर्ने र विश्वलाई आतंक मच्चाएको भाइरसको जोखिमवाट बच्नका लागि आवश्यक सतर्कता अपनाइएको चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।

नगरपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि नगरप्रमुख शिव कुमार गिरिको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रण समन्वय समिती गठन गरेको छ । साथै चापाकोट नगरपालिकाको १० वटै वडामा वडा अध्यक्षहरुको संयोजकत्वमा कोरना भाइरस नियन्त्रण समन्वय समिति गठन गरिएको चापाकोट नगरपालिकाका सुचना अधिकारी बिन्दु कोइरालाले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रम बोल्दै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरिले चापाकोट नगरपालिकामा कोरोना भाइरस फैलन नदिनका लागि सबैलाई उच्च सतर्कता अपनाउन लागि आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसको संक्रमणले विश्वभर ठूलो क्षति पुगेको र उक्त भाइरसका कारण मानिसको स्वास्थ्यमा गम्भिर असर समेत परेको यथार्थतालाइ मध्यनजर गर्दै, कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैले पूर्व तयारी गर्न आवश्यक रहेको बताउदै यसको विश्व व्यापी असरलाइ मध्यनजर गर्दै यस नगर क्षेत्र अन्र्तगतका सार्वजनिक ठाउँमा भेला , सभा सम्मेलन र सामाजिक कार्य लगायतका काम तत्कालका लागि नगर्न नगराउन भनिएको छ ।

नगरपालिकाले नगरवासीलाई नियमित रुपमा साबुन पानीले हात धुने, कोरोनाको फ्लु देखिए चिकित्सकको परामर्श लिने, घरपालुवा र पशुपङ्क्षीको असुरक्षित सम्पर्कबाट टाढा रहन नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने सर्वसाधारणलाई नगरपालिकाले सुझाव समेत दिएको नगरप्रमुख गिरीले जानकारी दिए । साथै नगरपालिकाले नगरवासीलाई सचेत रहन तर नआत्तिन अनुरोध समेत गरेको छ ।

Facebook Comments Box
TOP