भिषण असिनापानीले पीडित बनेका फेदीखोलाका व्यवसायिक कृषकलाई मल्हम लगाउँदै गाउँपालिका


आँधीखोला खबर/फेदीखोला :
गाउँमा नै व्यवसायिक पशुपालनको उद्देश्य लिएर वैदेशिक रोजगारबाट फर्किएका फेदीखोला वडा नं. ४ का कुमारप्रसाद सुवेदीलाई शनिबार रातिबाट चैनको निद्रा परेको छैन । विदेशबाट फर्किएर आफ्नै घरमा कुखुरापालन गर्दै आएका सुवेदीको कुखुराको खोर अविरल असिना पानीले भत्काइदियो । खोरमा रहेका १२ सय मध्य ३ सय कुखुरा मरे भने अन्यको अवस्था दयनीय छ, साथै २८ बोरा दाना नष्ट भएका छन् । ठूलो क्षति भएको जानकारी पाएपछि तत्काल राहत प्रदान गर्न गएको गाउँपालिकाको टिमसँग लामो सास फेर्दै सुवेदीले भने, ‘यस्तो आपतमा सहयोग गरेकोमा पालिकालाई धन्यवाद, केही हदसम्म राहत मिलेको छ ।’ गाउँपालिकाले राहत स्वरुप सुवेदीलाई ५० हजार प्रदान गरेको हो ।
व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले यतिखेर भारी असिना पानी, चट्याङ तथा हावाहुरीबाट क्षति भएका कृषक तथा स्थानीय वासिन्दाको तथ्यांक संकलन गर्दैछ । ठूलो क्षति भएका पीडितलाई तत्काल राहत दिने र अन्यलाई क्षति अनुसारको राहत प्रदान गरिने गाउँपालिकाको अभियान रहेको छ ।
क्षति भएका घरधुरीको तथ्यांक संकलन गर्न ७० जना प्रतिनीधि ७ वटा समुहमा बाँडिएर सम्पूर्ण वडामा खटिएका छन् ।


फेदीखोला २ लामिस्वाराका तिलबहादुर जिटीको चट्याङबाट घर जलेकोले २० पाता हुलासको सात फुटे टिन प्रदान गरिएको छ भने गोठ भत्किएर बाख्रा मरेको आरुखर्क कि बुद्धिसरा विकको घरधुरीलाई १० हजार प्रदान गरिएको छ ।
स्थानीयवासीलाई राहत वितरण गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्राकृतिक विपतले गाउँपालिकामा ठूलो क्षति पुर्याएको बताए । क्षति पुग्ने जनताको विवरण धेरै भएकाले राहत वितरण कार्य निकै नै चुनौतीपूर्ण र महंगो पर्ने देखिएको उनले बताए । क्षतिको सहि तथ्यांक दिन र दिलाउन सम्पूर्ण पालिकावासीलाई अपिल गर्दै सहयोगी हातहरु अगाडि बढाइदिन पनि उनको अपिल थियो । सकेसम्म ठूला देखि साना सबै पीडितलाई राहत दिलाउन प्रदेश र केन्द्र सरकारलाई बारम्बार झकझकाइरहेको उनको भनाई थियो ।
राहत वितरण कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष माधवप्रसाद शर्मा सुवेदी, फेदीखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, फेदीखोला गाउँपालिका रेडक्रस उपशाखाका अध्यक्ष लेखनाथ पराजुली, स्थानीय प्रहरी प्रशासनको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP