अष्ट्रेलियाको जनसम्पर्क समितिले तोक्यो अधिवेशन संयोजक, सिड्नीमा स्याङ्जाका शितल गिरी

सिड्नी । जनसम्पर्क समिति अष्ट्रेलियाको दीर्घ विवाद समाधान हुने भएको छ । लामो समयदेखि अधिवेशन नभइरहेको अवस्थामा समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया शुरु गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दिएको निर्देशनबमोजिम संयोजक कृष्ण गिरीले अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका जनसम्पर्क समितिहरुलाई अधिवेशनका लागि संयोजक तोकेका छन् ।
छ वर्षदेखि हुन नसकेको अधिवेशन अब चाँडै हुने अष्ट्रेलियाका जनसम्पर्क समितिका संयोजक गिरीले बताए । संयोजक गिरीले भने, ‘अब एक भएर अगाडि बढ्नुको विकल्प छैन । सबैको एकताबाटै संस्था बलियो हुन्छ । केन्द्रको निर्णयलाई सम्मान गर्दै अधिवेशनकालागि एक हुन सबैमा आग्रह गर्दछु ।’

यता जनसम्पर्क समिति सिड्नीको संयोजकमा शितल गिरी उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील गिरी स्याङ्जा रुपाकोटका हुन् । सन् २००९ देखि अष्ट्रेलियाका युवाहरुलाई संगठित गर्दै विभिन्न सामाजिक कार्यमा पनि गिरी सक्रिय छन् । गिरीले भन्छन्, ‘ शुरूमा जेमा आस्था भयो, आज पनि त्यसमा नै छ । बिचार, सोच र धारणामा फरक आएन । जीवन आजसम्म नेपाली कांग्रेस भनेर लागियो’

गिरीलाई संयोजक तोकिएपछि सिड्नीमा रहेका युवाहरूले पनि खुसी व्यक्त गरेका छन् । गिरी गैरआवसीय नेपाली संघ अष्ट्रेलियामा पनि धेरै नजिक रहेर बिभिन्न सामाजिक कार्य गर्दै अगाडि बढेका युवा हुन् ।

यसैगरी केन्द्रीय समितिको निर्णयले अधिवेशन समितिको अन्य राज्यका संयोजकहरूमा मेलबर्न रमेश चत्कौली, पर्थ निल थपलिया, ब्रिसबेन अभिमानसिंह बस्नेत, क्यानभरा भागीरथ सापकोटा, तास्मानिया प्रमोद सापकोटा ,डार्बिन सिजन गिरी र एडिलेटका लागि दिलीप पोखरेललाई तोकेको छ ।

केन्द्रले अष्ट्रेलियाको अधिवेशन समितिको निर्वाचन अधिकृतमा गणेश केसी र सिड्नीको निर्वाचन अधिकृतमा राजु अधिकारीलाई चयन गरेको छ ।

Facebook Comments Box
TOP