स्याङ्जामा असिनापानीले पुर्याएको क्षतिको मन्त्री अर्यालद्वारा निरिक्षण, विचलित नहुन आग्रह

स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जास्थित फेदिखोला गाउँपालिकामा असिनापानी र चट्याङले पुर्याएको क्षतिको स्थलगत निरिक्षण गरेकी छन् ।

मन्त्री अर्याल आज फेदिखोला गाउँपालिका पुगेर शनिबार राती आएको हावाहुरी चट्याङसहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्याएको क्षतिको निरिक्षण गरेकी हुन् ।

असिनापानीले ठूलो मात्रामा क्षति पुर्याएको क्षेत्र फेदिखोला गाउँपालिका वडा नम्बर ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरिक्षण गरेकी हुन् । असिनापानीले क्षति पुर्योएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडी बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताइन् ।

यस क्षेत्रमा प्राकृतिक विपत्तीबाट ठूलो क्षति हुन पुगेको भन्दै यस क्षतिबाट निराश नभएर फेरिपनि उर्जाका साथ कृषि क्षेत्रमा अगाडी बढ्न मन्त्री अर्यालले त्यस क्षेत्रका नागरिकलाई आग्रह गरेकी छन् । ‘तपाईहरु कृषि क्षेत्रमा उर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रसंशा गर्दछु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्यारएको’, मन्त्री अर्यालले भनिन्, ‘यस क्षतिबाट तपाईहरु कतिपनि विचलित नभएर फेरिपनि उर्जाका साथ लाग्नुस् । राज्यले तपाईहरुलाई सहयोग गर्छ ।’

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गरेकी छन् । सबै विवरण आइसकेपछि संघ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपुर्ती दिने मन्त्री अर्यालले प्रतिबद्धता दिइन् ।

गत शनिबार (चैत १ गते) राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अबिरल रुपमा परेको असिनापानीले वडा नम्बर १, २, ३, ४, ५, ९ वडामा क्षति पुर्याएको छ । असिनापानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरु, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए ।

यस्तो ठूलो असिनापानी यसअघि आएको थाहा नपाएको उनले बताए । ‘२०२४ सालमा अलिअलि आएको थाहा पाउछौ । त्यसपछि यस्तो असिनापानी आएकै छैन । म अहिले ५८ वर्षको भएँ, यस्तो असिनापानी आयो की सबै कुरा लगेर गयो’, वडाअध्यक्ष शर्माले भने ।

शर्माका अनुसार १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । उनकाअनुसार वडा नम्बर ४ मा सबैभन्दा बढी क्षति भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १,२ वटा घरमा चट्याङ परेपनि क्षति भने भएको छैन ।

Facebook Comments Box
TOP