स्याङ्जाकाे वालिङ र पुतलीबजारमा शुरु भयो चक्लाबन्दी खेती प्रणाली

तोलाकान्त बगाले /वालिङ :
स्याङ्जाका तीन ठाउँमा चक्लाबन्दी खेती प्रणालीका लागि सम्झौता भई कार्यान्वयन थालिएको छ । गण्डकी प्रदेश सरकारले स–साना जमीनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अगाडि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई अगाडि बढाएको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमुख गंगालाल पोख्रेलले बताउनुभयो ।
‘चक्लाबन्दी प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि’ तयार गरी मन्त्रालयले प्रस्ताव माग गरेकोमा गण्डकी प्रदेशका ११ जिल्लाका २० वटालाई छनौट भई सम्झौता गरी कार्यक्रम सञ्चालन भएको महाशाखा प्रमुख पोख्रेलले बताउनुभयो ।
“चक्लाबन्दी कार्यक्रमका लागि स्याङ्जाका कृषि सहकारी तथा कृषक समूह गरी तीन वटा छनौट भएका छन्” महाशाखा प्रमुख पोख्रेलले भन्नुभयो, “छनौट भएका सहकारी तथा कृषक समूहसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौं ।”
चक्लाबन्दी कार्यक्रम लागू भएको जग्गामा एकवर्षमा कम्तिमा पनि तीन बाली खेतीपाती गर्नुका साथै कम्तिमा पनि दश वर्ष जग्गा प्लटिङ गर्न आवास निर्माण गर्न नपाईने शर्त पालना गर्नुपर्ने प्रमुख पोख्रेलले बताउनुभयो ।
चक्लाबन्दी कार्यक्रमका लागि पहाडी भूभागमा ४० रोपनीभन्दा धेरै जमीन हुनुपर्ने प्रावधान रहेको छ ।
“चक्लाबन्दी कार्यक्रम लागू भएसँगै कृषिमा हुँदै आएको लागत घट्ने, खेतबारी बाँझो नहुने, सामूहिकरुपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणहरुको प्रयोग गरी लागत कम गर्न सकिने, जमीनको खण्डीकरण रोकिनुका साथै रोजगारीका अवसरहरु सिर्जना हुनेछन्” महाशाखा प्रमुख पोख्रेलले भन्नुभयो ।
गण्डकी प्रदेशका ११ वटा जिल्लाका २० वटा सहकारी तथा कृषक समूह गरी झण्डै तीन हजार रोपनी क्षेत्रफलमा पहिलो चरणमा चक्लाबन्दी कार्यक्रम सञ्चालनमा रहेको छ ।
स्याङ्जाका तीन ठाउँमा चक्लाबन्दी कार्यक्रम सम्झौता भई कार्यान्वयनको अवस्थामा रहेको छ । जिल्लाको पुतलीबजार नगरपालिका ४ को गोठिङ कृषक समूह, पुतलीबजार ४ कै ठूलीबेशी कृषक समूह र वालिङ ९ को सप्तरङ्गी कृषि सहकारी संस्थाले चक्लाबन्दी कार्यक्रम शुरु गरेका छन् ।
गोठिङ कृषक समूहमा १६० जना किसानको ३१० रोपनी जग्गामा चक्लाबन्दी कार्यक्रममार्फत सामूहिक खेती थालिएको पुतलीबजार ४ का वडा अध्यक्ष ओमबहादुर खड्काले बताउनुभयो ।
चक्लाबन्दी कार्यक्रम लागू भएको जमीनको क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो र पहिलो गोठिङ कृषक समूह भएको वडा अध्यक्ष खड्काको दाबी थियो ।
त्यस्तै पुतलीबजार ४ कै ठूलीबेशीमा तीन सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी कार्यक्रम सम्झौता भई सामूहिक खेती प्रणाली शुरु भएको छ ।
वालिङ ९ भुम्रेमा रहेको सप्तरङ्गी कृषि सहकारी संस्थाले वालिङ १४ को पेखु ठानामा १५ वर्षका लागि ३५५ रोपनी जग्गा लिजमा लिए पनि ५० रोपनी स्वीकृति भई कार्यक्रम शुरु भएको संस्थाका अध्यक्ष ताराप्रसाद भुसालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…