एक वर्षदेखि राजमार्ग छेउमा रोकिएको ट्रक कस्को ? खोज्न कोही आएनन……

भवानी अधिकारी /स्याङ्जा : 

एउटा मालबाहक ट्रक राजमार्ग छेवैमा राखिएको झण्डै एक वर्ष पुग्न लागेको छ। सिद्धार्थ राजगार्ग अन्र्तगत पुतलीबजार नगरपालिका ११ सुम्रेखोलाको घुम्तिमा विपरित दिशातर्फ फर्काएर राखिएको सो ट्रकको आजसम्म कसैले खोजी गरेको भेटिँदैन्।

यो ट्रक आजका दिनसम्म पनि कसैले नखोजेको स्थानीयबासी बताउँछन्। ‘न त, कोही आएर सोंधखोज गरेका छन्। न कुनै सरकारी निकायले यसतर्फ चासो देखाएको छ।’ स्थानीय कफी ब्यवसायी कृष्णजंग केसी भन्छन ‘लाखौंको सम्पत्ति किन यसरी वेवारिसे बन्यो।’ 

जानकारहरुका अनुसार टाटा कम्पनीको उक्त ट्रक चालिस/पचास लाख  रुपैंया जति मूल्यको हो। १० चक्के सो ट्रकको नम्बर प्लेट भने छैंन। बाहिरबाट हेर्दा ट्रकभरी मालसामान राखेझैंगरी कालो त्रिपालले ढाकिएको छ। भने खाली रहेको स्थानीयको भनाइ छ।

राजमार्ग छेउमा एक वर्षदेखि रोकिरहेको ट्रक।  

कसैले खोजी नगरेको ट्रकको दुरुपयोग भइरहेको स्थानीयबासी बताउछन्।  ‘बन्द राखिएको ट्रकको दुरुपयोग भएको छ। ट्रकभित्र बसेर लागु औषध सेवन लगायतका अन्य गलत क्रियाकलाप बढ्न थालेका छन।’ स्थानीय अनन्तनारायण अर्यालले भने, ‘झिक्न मिल्ने ट्रकका सामानहरु झिकिएका छन्।’

पोखरासुनौली चल्ने यो राजमार्गमा दैनिक सयौं सवारी साधन ओहोरदोहोर हुन्छन्। एक वर्षसम्म पनि ट्रकको खोजीकार्य नहुँदा स्थानीयले शंका गर्न थालेका छन्।  हेर्दा पनि चालु अवस्थामा देखिने जस्तो ट्रक यसरी बेवारिसे बन्दा कतैवाट पनि खोजीकार्य किन भएन भनी धेरैले चासो व्यक्त गरिरहेका छन्।

Facebook Comments Box
TOP