कृषिको व्यवशायीकरणमा गाउँपालिका अग्रसर : कृषकको उत्पादन भण्डारण गर्न चिस्यान केन्द्र


आँधीखोला खबर/फेदीखोला :
कृषिमा उत्पादन बढाउन विभिन्न अनुदान तथा कार्यक्रम संचालन गर्दै आएको फेदीखोला गाउँपालिकाले उत्पादन भएका कृषिजन्य सामाग्री सुरक्षित रुपमा भण्डारण गर्न चिस्यान केन्द्र संचालनमा ल्याएको छ । कोरियाली अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) र नेपाल सरकारको साझेदारीमा संचालित कार्यक्रम फलफूल तथा तरकारी मुल्य श्रृंखलाको आर्थिक सहयोगमा उक्त केन्द्र निर्माण गरिएको हो ।
१२ लाख लागतमा पालिकाको १ नं वडास्थित कृषि उपज बजार व्यवस्थापन सहकारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा बिशेषत कृषकबाट उत्पादित तरकारी, आलु, सुन्तला, तरकारी, दुध राखिने पालिकाले जनाएको छ । कृषकको उत्पादनलाई भण्डारण, बिक्री तथा बजारिकरणको माध्यम बनाउन पालिकाले उक्त सहकारीमा भौतिक पुर्वाधार तथा आर्थिक सहयोग गर्दै आएको छ ।


गाउँपालिकाका करिब ५ देखि ६ सय किसानहरुले उक्त सहकारीमा कृषकको बजारिकरण अभावलाई समाधान गर्न गाउँपालिकाले गत बर्ष नै पोखरा महानगरसँग सहकार्य गरि पोखरामा बिक्री केन्द्र स्थापना गरेको थियो । गत बर्षमात्र गाउँपालिकाका कृषक समुहबाट ७ टनको मकैको बिउ, ३० टन बढि तरकारी, ४० क्विन्टल कफी, ५० क्विन्टल बढि अदुवा, १ क्विन्टल बढि अम्रिसो बाहिरी जिल्लामा निर्यात गरिएको सहकारीको तथ्यांक छ । ‘उत्पादनशिल कृषक, सम्पन्न गाउँपालिका’ नाराका साथ कृषि व्यवसायिकरणका लागि गाउँपालिकाले किसानको मुल्यमा सय कडा दश अनुदान दिएपछि पछिल्लो समय कृषि उपज सहकारीमा कृषि उत्पादन २५ देखि ३० प्रतिशतले बढेको छ । केन्द्र स्थापना भएसँगै कृषकहरु हर्षित भएका छन् । ‘अब त बेमौसममा सुन्तला बिक्री गरी दोब्बर आम्दानी लिन सकिने भइयो ।’ उद्घाटन कार्यक्रममा सहभागी एक किसानको भनाई थियो ।


चिस्यान केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजार ब्यवस्थापन तथा किसानलाई कृषि उत्पादनमा थप प्रोत्साहन गर्न चिस्यान केन्द्र स्थापना गरिएको बताउनु भयो । ‘उत्पादन गरेरमात्र के गर्ने बजारीकरण नहुँदा उचित मुल्य पाइदैन भन्ने कृषकको गुनासो बढ्न थालेपछि कोइकाको सहयोगमा स्टोर निर्माण गरिएको हो ।’ अध्यक्ष सुवेदीले भन्नुभयो, ‘कृषि उत्पादन बढाएर मात्र हुँदैन बिचौलिया र बजारिकरण समस्या व्यवस्थापन गर्नुपनि उत्तिकै आवश्यक छ ।’ चिस्यान केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको मुल्य श्रृंखला कार्यक्रमका बजार परियोजना बिशेषज्ञ राजकुमार अधिकारीले गाउँपालिकाले कृषि क्षेत्रमा संचालित प्रभावकारी कार्यक्रम, उत्पादनमा कृषक र जनप्रतिनीधिको उत्साहजनक सहभागिता र यातायात सुगमताले उक्त पालिकालाई छनोट गरेको बताउनु भयो ।
परियोजनाको अभियान नै कृषि व्यवसायिकरण तथा गुणस्तर अभिवृद्धि रहेकाले कार्यक्रमको प्रभावकारिता अनुसार थप सहयोग गर्न सकिने बताउनु भयो । यसैबीच, परियोजनाको आर्थिक सहयोगमा उक्त सहकारीमा डिजिटल बोर्ड पनि राखिएको छ, जसले उत्पादनको मुल्य सुचीबारे जानकारी दिने सहकारीले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडा १ का अध्यक्ष खिमबहादुर थापा, वडा ३ का अध्यक्ष कृष्णबहादुर रानाभाट, वडा ४ का अध्यक्ष माधवप्रसाद शर्मा सुवेदी, वडा ५ कि अध्यक्ष देउकुमारी गुरुङ लगायतको सहभागिता थियो ।

Facebook Comments Box
TOP