पोखरामा हुने क्यान इन्फोटेक २०२० को बारेमा वालिङमा पत्रकार सम्मेलन

आँधीखोला खबर/वालिङ :
पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ११ औं संस्करणको प्रदेश स्तरीय प्रभु पे क्यान इन्फोटेक २०२० इन एशोसियसन वीथ वल्र्ड लिङ्क आयोजना हुने भएको छ । यही फागुन ११ देखि १५ गतेसम्म ११ औं संस्करणको प्रदेश स्तरीय प्रभु पे क्यान इन्फोटेक २०२० इन एशोसियसन वीथ वल्र्ड लिङ्क हुने शनिबार वालिङमा आयोजित पत्रकार सम्मेलन मार्पmत जानकारी गराइएको हो । क्यान महासंघ कास्कीद्वारा कार्यक्रमको आयोजना गर्न लागिएको हो । महासंघले विगत १० वर्षदेखि नियमितरुपमा कार्यक्रम गर्दै आएको उल्लेख गरेको छ ।
कम्प्युटर तथा सूचना प्रविधी सम्बन्धी भएका अत्याधुनिक एवम् नविनतम प्रविधीको जानकारी ग्रामिण क्षेत्रसम्म यसको पहुँच पुर्याउने लक्ष्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
इन्फोटेकमा वृहत सूचना प्रविधी प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फ्रेन्स, प्रदेश तथा जिल्ला स्तरको टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्व प्रतियोगिता, प्रदेश तथा जिल्लाका विद्यालय स्तरीय आइटी क्वीज कन्टेष्ट, आइसिटी रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था गरिनेछ । यसका साथै कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रावर्ट प्रदर्शनी एवम् प्रतियोगिता तथा आइसिटीसँग सम्बन्धित नविनतम गतिविधीहरु प्रदशर्हनी, मोवाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, नविनतम प्रविधीका मोवाइलहरुको प्रदर्शनी एवम् विक्रि वितरण गरिने पनि आयोजकले जनाएको छ ।
यस इन्फोटेक मेलामा करिव सय वटा आइसिटीसँग सम्बन्धित स्टलहरु रहनेछन् भने ३५ लाखको अनुमानित आम्दानी गरिने लक्ष्य लिइएको छ । कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको छ भने बचत हुन आएको रकमबाट विगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधीको विकासका क्षेत्रमा खर्च गरिने पनि आयोजकले उल्लेख गरेको छ ।
यसैबीच यही फागुन ८ गते वालिङ बहुमुखी क्याम्पसमा टाइपिङ र वक्तृत्वकला प्रतियोगिता गरिने पनि आयोजकले जानकारी गराएको छ ।

Facebook Comments Box
TOP