बीस वर्ष नपुगेकी आमाले जन्माएको बच्चाको जन्मदर्ता गर्ने कि नगर्ने श्रीमान ?

तोलाकान्त बगाले/वालिङ:
“बीस वर्ष पूरा नभएकी आमा र बाबुको सम्पर्कबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन श्रीमान ?” वालिङ नगरपालिका ७ नं. वडाका वडा अध्यक्ष पाण्डुकुमार थापाको जिज्ञासा हो यो ।
उच्च अदालत पोखराले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘न्यायीक बाह्य सम्वाद’ अर्थात् समुदायमा अदालत अन्तर्गत अन्तरक्रियात्मक कार्यक्रममा वडा अध्यक्ष थापाले वडा कार्यालयमा कार्य सम्पादन गर्ने क्रममा देखिएका समस्याहरुकाबारेमा जिज्ञासा उच्च अदालत पोखराका मुख्य न्यायाधीश समक्ष राख्नुभएको हो ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा १४ नं. वडाका वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठको पनि उस्तै जिज्ञासा थियो । “बीस वर्ष नपुगेका केटा केटीले जन्माएको बच्चा बैध हुने तर बिबाह अवैध हुने भएकाले यस्तो अवस्थामा के गर्ने श्रीमान् ?” वडा अध्यक्ष श्रेष्ठले उच्च अदालत पोखराका मुख्य न्यायाधीश समक्ष जिज्ञासा राख्नुभयो ।
दुई जना वडा अध्यक्ष जस्तै अन्य जनप्रतिनिधि तथा कर्मचारीले पनि जिज्ञासाहरु राख्नुभएको थियो ।

न्याय प्रशासनको काम कारबाही र त्यसको कार्यविधि समेतका बारेमा आम समुदायलाई जानकारी गराउने उद्देश्यले समुदायको बीचमा गएर अदालतका न्यायाधीशले न्यायमा बाह्य पहुँच बृद्धि गर्न समुदाय समुदायमा अदालत जाने गरेको उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले बताउनुभयो ।
“सहभागीहरुले अदालतबाट हुने काम कारबाही एवम् छिटो छरितो न्याय प्रवाहका सम्बन्धमा आफ्ना जिज्ञासाहरु राख्न सक्नुहुनेछ” मुख्य न्यायाधीश बस्यालले भन्नुभयो, “उठेका जिज्ञासाहरुलाई प्रत्यक्षरुपमा छलफलका माध्यमबाट समाधान गरिने छ भने नयाँ संहिताहरुकाबारेमा पनि जानकारी गराईन्छ ।”
अदालतमा मुद्धा परेपछि मुद्धामा विचौलियाको प्रभाव, रकमको चलखेल, ढिलासुस्तीकाबारेमा अदालतमाथि कहिलेकाही भ्रम छर्ने गरिएकाले रकमको चलखेलबाट मुद्धा जितिन्छ भन्ने भ्रममा कोही पनि नपर्न मुख्य न्यायाधीश बस्यालको आग्रह थियो ।
“न्याय कहिल्यै पनि मर्दैन, मर्न दिदैनौं पनि तपाईहरु ढुक्क हुनुहोस्” मुख्य न्यायाधीश बस्यालले भन्नुभयो, “न्यायको तराजु लिएपछि राजनीतिक आग्रह पूर्वाग्रह त्यागेर सबै स्थानीय तहमा रहेका न्यायीक समितिहरुले मेलमिलापका माध्यमबाट दुबै पक्षको जीत हुने गरी न्याय सम्पादन गर्न पनि अनुरोध गर्दछु ।”
मुख्य न्यायाधीश बस्यालले बीस वर्ष उमेर नपुगेका आमा बाबुबाट जन्मेको बच्चाको जन्मदर्ता गर्नुपर्ने तर बिहे दर्ता गर्न नपाईने, बिबाह गर्न पाउने उमेरको हद न्यूनतम बीस वर्ष पुग्नै पर्ने मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भई कार्यान्वयनमा रहेको बताउनुभयो ।
अदालत र ऐन नियम, कानूनका विषयमा जान्ने बुझ्ने मौका उच्च अदालतले प्रदान गरेकोमा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खुशी ब्यक्त गर्नुभयो ।
“न्याय सम्पादन गर्ने विषय हो, बुझ्ने विषय हो” नगर प्रमुख खाँणले भन्नुभयो, “कानूनकाबारेमा जान्ने बुझ्ने भन्दा पनि सर्वसाधारणमा डराउने प्रवृत्ति बढी रहेकाले यसको न्यूनिकरणका लागि कानूनी साक्षरताको जरुरी रहेको छ ।”
अन्तरक्रियामा उच्च अदालत पोखराका न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ, सुवास पौडेल, रजिष्टार कृष्णप्रसाद पौडेल, नगर उपप्रमुख कल्पना तिवारी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मुलुकी देवानी (संहिता) ऐनहरु लागू भई कार्यान्वयनको अवस्थामा रहेकाले ऐन कानूनको अनभिज्ञताका कारण सजाय क्षम्य नहुने भएकाले कानूनी साक्षरतालाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको नगर प्रमुख खाँणको भनाई थियो ।
उच्च अदालत पोखराको प्रादेशिक अधिकार क्षेत्रभित्र गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोरखा, मनाङ, नवलपुर, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ जिल्ला अदालतहरु र अर्धन्यायीक निकायहरु पर्दछन् । मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला अदालत पोखरा बाग्लुङ ईजलास अन्तर्गत पर्दछन् ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…