वालिङ नगरपालिका : संशोधित पूरक बजेट रू. ८२ करोड

स्याङ्जा : वालिङ नगर कार्यपालिकाको सातौं नगरसभाले चालू आर्थिक वर्ष २०७६/७७ का लागि कूल रू. ८२ करोड २१ लाख ३६ हजारको संशोधित पूरक बजेट पारित गरेको छ । गत असारमा सम्पन्न छैटौं नगरसभा मार्फत स्वीकृत अनुमानित बजेटभन्दा यो रकम रू. १७ करोड ८ लाख ७९ हजार बढी हो । नगरसभामा नगर उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक कल्पना तिवारीले संशोधित आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । छैटौं नगरसभाले ६५ करोड ६७ लाख ५७ हजारको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको थियो ।

संशोधित बजेटमा संघीय सरकार विशेष अनुदान रू. ३ करोड ७५ लाख, सशर्त अनुदान रू. १ करोड ४४ लाख ७ हजार, संघीय सरकार समपूरक अनुदान रू. १ करोड ६० लाख र प्रदेश सरकार समपूरक अनुदान रू. १ करोड पाउने उल्लेख छ । साथै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम शीर्षकअन्तर्गत रू. ३ करोड ५४ लाख ६० हजार रहेको छ भने औद्योगिक ग्राम निर्माण पूर्वाधार विकास कार्यक्रमका लागि रू. ९२ लाख, सडक बोर्ड नेपालबाट रू. ४७ लाख र गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत रू. २७ लाख र पर्यटन पूर्वाधार विकासका लागि रू. २५ लाख प्राप्त हुने उल्लेख छ । साथै गतवर्षको बजेटबाट आएको रू. ४ करोड २३ लाख ७२ हजार ५४ समेत समावेश छ । 

सातौं नगरसभाले वालिङ नगरपालिकाको स्थानीय बजार अनुगमन ऐन २०७६, वालिङ नगरपालिकाको संस्था दर्ता ऐन २०७६ र वालिङ नगरपालिकाको पूर्वाधार व्यवस्थापन ऐन २०७६ पारित गरेको छ भने शिक्षा ऐन र सहकारी ऐन परिमार्जनसहित पारित भएको छ ।आर्थिक अभियान दैनिकबाट

Facebook Comments Box
TOP