वालिङ : दलित बस्तीमा कम्मल वितरण

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाका दुई गाउँमा आज कम्मल वितरण गरिएको छ । वालिङ वडा नं. १४ को लंकाकोट र ११ को प्रितिपमा २५/२५ गरी ५० वटा कम्मल तथा न्यानो कपडा वितरण गरिएको हो ।

समाजसेवी रामकुवेर देवसीको जन्मोत्सवका अवसरमा प्राप्त भएको कम्मल वितरण गरिएको हो ।

आज लंकाकोटमा आयोजित कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले न्यानो कपडा वितरण मात्रै नभई हरेक विकास निर्माणमा नगरपालिका सँगसँगै रहेको बताउनुभयो । नगर प्रमुख खाँणले आर्थिक समृद्धिको पाटोतर्फ उन्मुख हुनकालागि अब उत्पादनसँग जोडिनु आवश्यक रहेको बताउनुभयो ।

त्यस्तैगरी वालिङ ११ प्रितिपमा २५ घर परिवारलाई कम्मल वितरण कार्यक्रममा बोल्नुहुँदै वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले यस ठाउँमा न्यानो कपडा वितरणका लागि छनौट गरेकोमा धन्यवादन ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पल्लव शिक्षा निर्देशक सफलराज भण्डारी, पल्लव शिक्षाका सिर्जना पोख्रेल, वालिङ नगरपालिकाका स्मार्ट विज्ञ विज्ञान घिमिरे, वडा सदस्य उमा विक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

वडा अध्यक्ष बसन्तकुमार मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघका क्षेत्रीय सभापति डण्डपाणी पंगेनीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP