स्याङ्जा महोत्सव : कमला र प्रिन्सको दोहोरी

भवानी अधिकारी/स्याङ्जा : स्याङ्जा महोत्सवमा बालगायिका कमला घिमिरे र बालगायक प्रिन्स लम्सालले दर्शकलाई मनोरञ्जन दिएका छन्। उनीहरूको प्रस्तुतिलाई झनै रोचक बनाउन सफल रहे स्याङ्जाली कलाकार रामजी खाँण र घनश्याम रिजाल।

धादिङ घर भएकी १३ वर्षे कमला र स्याङ्जा भीरकोटका १३ वर्षे प्रिन्सको दोहोरो सुन्न लालायित दर्शकलाई उनीहरूले खुसी पारे। नम्र, मिजासिलो, मौलिकपन र सरल भावमा गाइएको गीतबाट महोत्सव अवलोकनकर्ताले भरपुर मनोरञ्जन लिए।

कमला आफ्ना बुवासँगै स्टेट चढिन् भने प्रिन्स आमासँगै आएका थिए। रामजी खाँण, सञ्जीव रानालगायतलाई स्वागत गरियो। कमलाले पहिलो पटक रामजी खाँणसँग गीत गाइन्। सरल र मार्मिक भावमा भावना पोख्न जानेकी कमलाको बालप्रतिभा लोभलाग्दो छ। उनले भीरकोटका बालगायक प्रिन्ससँग पनि दोहोरी गाइन्। गाउँदै सबैलाई नचाइन्। सबैलाई सम्बोधन गर्दै आफ्नो परिचय गराइन्। कमलाको स्वरमा रहेको पहिलो दोहोरी गीत र अमृत सापकोटासँग गाएको चिया छानेको गीत बजारमा आएको जानकारी गराउँदै लम्सालसँगै दोहोरी गीत गाइन्।

कमला र प्रिन्सले स्याङ्जा महोत्सवमा झन्डै दुई घण्टा गीत गाएर भरपुर मनोरञ्जन गराएका छन्। उनीहरूका गीतसँगसँगै गाउँदै दर्शक नाचेका थिए। पुतलीबजार नगरपालिका—१ स्थित मालेबगरमा जारी महोत्सवलाई लक्षित गर्दै पहिलो पटक स्याङ्जा आएकी बालगायिका कमला र स्याङ्जाकै अर्का प्रिन्सलाई सबै जिल्लावासीले अझै अगाडि बढ्न सुझाव दिए।

स्याङ्जामा जन्मेका रामजीले पाँच वटा गीत गाए। मोडल करिश्मा ढकाललगायत स्थानीय कलाकारले नृत्य, गायन, रत्यौली प्रदर्शन गरेका थिए। महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ।

Facebook Comments Box
TOP